पुरातात्त्विक स्थललाई सर्वसाधारणसम्म पुर्याउँदै चीन

ड्रागन मिडिया समाचार कक्ष
चीनले ऐतिहासिक तथा पुरातात्त्विक स्थलको संरक्षणसँगै तिनलाई सर्वसाधारणका लागि खुला र सहज बनाउने प्रयास अघि बढाएको छ। मध्य चीनको हेनान प्रान्तस्थित दाहेकुन राष्ट्रिय पुरातात्त्विक स्थल उद्यानमा निर्माण गरिएको सङ्ग्रहालयले करिब सात हजार वर्ष पुरानो नवपाषाणकालीन बस्तीको इतिहास र याङशाओ संस्कृतिलाई आगन्तुकसमक्ष प्रस्तुत गरेको छ।
करिब १६० हेक्टरमा फैलिएको उद्यानको सङ्ग्रहालय अधिकांश भाग भूमिगत बनाइएको छ। त्यहाँ १ हजार ५०० भन्दा बढी पुरातात्त्विक वस्तु प्रदर्शनमा राखिएका छन्। बाहिरी संरक्षण क्षेत्रमा याङशाओकालीन बस्तीका अवशेष हेर्न सकिन्छ। चीनमा यस्ता १५० प्रमुख पुरातात्त्विक स्थल छन्, जसमध्ये ६५ लाई राष्ट्रिय पुरातात्त्विक स्थल उद्यानका रूपमा विकास गरिएको छ।
हेनानकै लुओयाङमा रहेका पुरातात्त्विक स्थलहरूलाई आधुनिक सहरसँग जोडेर संरक्षण गरिएको छ। निर्माणअघि उत्खनन गर्नुपर्ने व्यवस्था लागू गरिएपछि त्यहाँका पुराना बस्ती र राजधानीका अवशेष संरक्षणमा सहयोग पुगेको अधिकारीहरूले बताएका छन्।
यस्ता उद्यानमा आगन्तुकको सङ्ख्या बढ्दै गएको छ। सन् २०२१ मा २ करोड ९ लाख ७० हजार रहेको राष्ट्रिय पुरातात्त्विक स्थल उद्यानका आगन्तुकको सङ्ख्या सन् २०२५ मा ९ करोड ७७ लाख ४० हजार पुगेको छ। पाँच वर्षमा कुल ३० करोड ३० लाखले ती स्थलको भ्रमण गरेका छन्।
पुरातात्त्विक स्थलको संरक्षणलाई स्थानीय विकाससँग जोड्ने प्रयास पनि भइरहेको छ। झेजियाङ प्रान्तको लियाङझु क्षेत्रमा सांस्कृतिक सम्पदामा आधारित ग्रामीण विकास कार्यक्रम सञ्चालन गरिएका १४ गाउँका सामूहिक संस्थाको सञ्चालन आम्दानी सन् २०२५ मा अघिल्लो वर्षको तुलनामा १९ प्रतिशत बढेको छ। सन् २०२६–२०३० को राष्ट्रिय सांस्कृतिक सम्पदा योजनाले यस्ता स्थलको व्यवस्थित संरक्षण र उपयोगलाई प्राथमिकता दिएको छ।





