१० कार्तिक २०८३, सोमबार

तीन दिन सञ्चालनपछि तातोपानी नाका पुनः बन्द, सीमावर्ती बजारमा चिनियाँ सामानको अभाव

ड्रागन मिडिया सम्वाददाता

तीन दिन खुलेर पुनः बन्द भएको तातोपानी नाकाबाट मालवाहक कन्टेनरको आवागमन रोकिँदा सीमावर्ती बजारको व्यापार र स्थानीयको रोजीरोटी प्रभावित भएको छ। कन्टेनरका लागि नाका कहिले खुल्छ भन्नेबारे थप जानकारी नआएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए। उनका अनुसार पर्यटकका लागि भने नाका खुला छ।

बाढीपहिरोका कारण बन्द भएको नाका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको असोज ३१ गतेको विज्ञप्तिपछि कात्तिक १ देखि ३ गतेसम्म सञ्चालनमा आएको थियो। उक्त अवधिमा मालवाहक सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइएको थियो। तीन दिनमा दसैँ लक्षित तयारी पोसाक, फलफूललगायत सामान बोकेका ७२ कन्टेनर नेपाल भित्रिएका थिए। तीमध्ये ५६ कन्टेनरमा तयारी पोसाक थियो।

नाका पुनः बन्द भएपछि तातोपानी भन्सार क्षेत्र र आसपासका बजारमा चिनियाँ सामानको आपूर्ति घटेको व्यवसायीले बताएका छन्। बाह्रबिसे नगरपालिका–९ की व्यवसायी कविता तिवारीका अनुसार नाका क्षेत्रसहित अन्य बजारमा पनि चहलपहल घटेको छ। नाका खुल्ने प्रतीक्षाले स्थानीय व्यवसायी आजित भएको अर्की व्यवसायी मिश्री श्रेष्ठले बताइन्।

नियमित सञ्चालन नहुँदा नाकामा निर्भर व्यवसायी वैकल्पिक व्यापारिक मार्गतर्फ जान थालेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका कार्यकारिणी सदस्य राजेश भण्डारीले बताए। तातोपानी, लिस्तीकोट र फूल्पिङकट्टी क्षेत्रका कतिपय बासिन्दा दैनिक चिनियाँ बजार झामु पुगेर खाद्यान्न, घरायसी तथा विद्युतीय सामान ल्याई बेच्ने गर्थे। त्यसबाट हुने आम्दानीले घरखर्च, बालबालिकाको पढाइ र ऋण व्यवस्थापन गर्दै आएको स्थानीयको भनाइ छ। नाका बन्द भएपछि साना व्यापारीको जीविकोपार्जनमा समेत असर परेको उनीहरूले बताएका छन्।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले नाका कहिले नियमित सञ्चालन हुन्छ भन्ने टुङ्गो नहुँदा व्यवसायी अन्योलमा परेको बताए। नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अध्यक्ष अर्जुन सापकोटाका अनुसार अनिश्चितताले व्यवसायी, मजदुर, चालक, सहचालक र स्थानीयवासीको रोजीरोटी प्रभावित भएको छ।

भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठले सडक, भन्सार र अध्यागमनका पूर्वाधार तयार हुँदासमेत नाका बन्द रहनुको कारण स्पष्ट नभएको बताए। व्यवसायी र स्थानीयले नाका नियमित सञ्चालनका लागि सरकारले प्रभावकारी पहल गर्न माग गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button