१० कार्तिक २०८३, सोमबार

बंगालको खाडीको चक्रवातबाट नेपालमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

ड्रागन मिडिया समाचार कक्ष

बंगालको खाडीमा विकसित मौसमी प्रणालीको प्रभावले कात्तिक १२ देखि १४ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी कात्तिक १३ र १४ गते वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाकी वरिष्ठ मौसमविद् एवं प्रवक्ता विभूति पोखरेलले आग्रह गरेकी छन्।

पोखरेलका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली चक्रवातमा परिणत भएको छ। चक्रवात आफैँ नेपालसम्म नआए पनि त्यसबाट प्रभावित मौसमी प्रणालीले नेपालमा वर्षा गराउन सक्छ। भारतीय मौसम विभागका अनुसार चक्रवात अक्टोबर २८ मा आन्ध्र प्रदेशको तटीय क्षेत्रमा पुग्ने अनुमान छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बढी वर्षा हुन सक्ने र उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताएका छन्। साना खोलामा पानीको बहाव अचानक बढ्न र जोखिमयुक्त क्षेत्रमा सानातिना पहिरो जान सक्ने भए पनि व्यापक पहिरोको सम्भावना कम रहेको पोखरेलको भनाइ छ। मनसुन सकिएपछि अक्टोबर–नोभेम्बरमा यस्ता मौसमी प्रणालीबाट बेलाबेला वर्षा हुनु अस्वाभाविक नभएको उनले बताइन्।

धान भित्र्याउने समय भएकाले किसानलाई मौसमको अवस्था हेरेर काम गर्न र हिमाली क्षेत्रमा पदयात्रामा रहेका पर्यटकलाई यात्रा स्थगित गर्न आग्रह गरिएको छ।

गत असोज ८ देखि ११ गतेसम्मको वर्षाले विशेषगरी लुम्बिनी र गण्डकी प्रदेशमा क्षति पुर्‍याएको थियो। बाढीपहिरोमा परी ३० जनाको मृत्यु, १५ जना घाइते र तीन जना बेपत्ता भएका थिए। उक्त वर्षाले १ हजार ९२३ परिवार विस्थापित गरेको थियो भने १० वटा पुल बगाएको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button