चीनसँग सम्बन्ध सुधारका पक्षधर जापानका पूर्वप्रधानमन्त्री फुकुदाको निधन

ड्रागन मिडिया समाचार कक्ष
जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ। उनको निधन अक्टोबर २२ मा भएको जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीले सोमबार जनाएको छ। मृत्युको कारण भने सार्वजनिक गरिएको छैन।
फुकुदा सन् २००७ सेप्टेम्बरमा प्रधानमन्त्री बनेका थिए। तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिएपछि नेतृत्व सम्हालेका उनले करिब एक वर्ष जापान सरकारको नेतृत्व गरे। सन् २००८ सेप्टेम्बरमा उनले पदबाट राजीनामा दिएका थिए।
प्रधानमन्त्री रहँदा फुकुदाले चीनसँगको सम्बन्ध सुधारलाई प्राथमिकता दिएका थिए। उनको निमन्त्रणामा चिनियाँ राष्ट्रपति हु जिन्ताओले सन् २००८ मेमा जापानको भ्रमण गरेका थिए। एक दशकपछि जापान भ्रमण गर्ने उनी पहिलो चिनियाँ राष्ट्रपति थिए। भ्रमणका क्रममा दुवै देशले साझा रणनीतिक हितमा आधारित पारस्परिक लाभकारी सम्बन्ध अघि बढाउने प्रतिबद्धता जनाएका थिए।
सक्रिय राजनीतिबाट अवकाश लिएपछि पनि फुकुदाले जापान–चीन सम्बन्ध सुधारका लागि पहल जारी राखे। सन् २०१४ मा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए। उक्त पहलले तत्कालीन जापानी प्रधानमन्त्री आबे र सीबीच शिखर बैठकका लागि वातावरण बनाउन सहयोग गरेको थियो।





