ओलीले अमेरिका र भारतले दबाब दिएको बताएको जनआस्थाको समाचार

ड्रागन मिडिया सम्वाददाता
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका कमजोरीबारे प्रश्न उठ्दा अमेरिका र भारतले आफूलाई दबाब दिएको बताएका छन्। स्थायी कमिटी बैठकअघि भेटेका एक उपाध्यक्षलाई उद्धृत गर्दै जनआस्था साप्ताहिकले ओलीको भनाइ उल्लेख गरेको हो।
जेनजी प्रदर्शनपछि सत्ताबाट बाहिरिएका ओलीले सार्वजनिक रूपमा आफ्नो कमजोरी स्वीकार नगरेको जनआस्थाको समाचारमा उल्लेख छ। पार्टीभित्र भने उनले आन्तरिक कमजोरीसँगै बाह्य षड्यन्त्रको प्रसंग उठाउने गरेको ती उपाध्यक्षलाई उद्धृत गर्दै साप्ताहिकले जनाएको छ।
चुनावी पराजयपछि ओलीले नेतृत्व नछाडेको र पार्टीभित्र नेतृत्व पुनर्गठनको विषयमा मतभेद रहेको समाचारमा उल्लेख छ। महासचिव शंकर पोखरेललाई स्थायी कमिटी बैठकमा उपाध्यक्षहरूभन्दा तल राखिएको आसन व्यवस्थापनबारे ओलीले पहिलेको बसाइ नमिलेको र अहिले सच्याइएको बताएका थिए।
प्रतिनिधिसभा पुनःस्थापनालाई राजनीतिक मुद्दा बनाउने एमालेको निर्णयबारे उठेका प्रश्नमा ओलीले अदालतमा मुद्दा विचाराधीन रहेकाले फैसला नहुँदासम्म पुनःस्थापनाको कानुनी तथा संवैधानिक औचित्य कायम रहेको तर्क गरेको जनआस्थाले जनाएको छ। पार्टीले संविधानको रक्षा र स्थानीय तथा प्रदेश निर्वाचनको तयारीलाई कार्यभारका रूपमा अघि सारेको पनि समाचारमा उल्लेख छ।
ओलीले स्थायी कमिटी बैठकमा पक्राउ पुर्जीबिना व्यक्तिलाई नियन्त्रणमा लिने र मोबाइल कब्जा गर्ने कार्य गैरकानुनी भएको भन्दै सरकारको गिरफ्तारी तथा धरपकडको विरोध गरेको समाचारमा जनाइएको छ।





