९ मंसिर २०८३, मंगलवार

दशौं राष्ट्रिय खेलकुद आजदेखि शुरु, कर्णालीमा उत्साहसँगै व्यवस्थापनको चुनौती

ड्रागन मिडिया सम्वाददाता

पटक–पटक स्थगित हुँदै आएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्ततः आज मंगलबारदेखि शुरु हुँदैछ। प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि सुर्खेत, नेपालगञ्ज र बर्दियामा आजदेखि नै विभिन्न खेल सञ्चालन हुनेछन्।

पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर पाएको कर्णाली प्रदेशमा उत्साह बढेको छ। प्रतियोगिताको आयोजनाले कर्णालीको खेलकुद विकास, प्रतिभा पहिचान तथा प्रदेशको राष्ट्रिय परिचय विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतियोगिता आयोजनाको अनिश्चितता अन्त्य भए पनि खेल पूर्वाधारको अभाव, खेलाडीको आवास व्यवस्थापन, अपर्याप्त तयारी र सीमित आर्थिक श्रोतका कारण आयोजकसामु चुनौती देखिएका छन्। पटक–पटक प्रतियोगिताको मिति परिवर्तन हुँदा खेलाडीको नियमित प्रशिक्षण र प्रतियोगिताको पूर्वतयारीसमेत प्रभावित भएको छ।

पर्याप्त खेल पूर्वाधार नहुँदा कतिपय प्रतियोगिता होटल तथा निजी विद्यालयका परिसरमा सञ्चालन गर्नुपर्ने अवस्था छ। एउटै खेल मैदानमा विभिन्न विधाका प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यताले खेल तालिका र व्यवस्थापनलाई थप चुनौतीपूर्ण बनाएको छ।

खेलाडी तथा पदाधिकारीको आवास व्यवस्थापन सहज बनाउन प्रतियोगिताको अवधि लम्ब्याइएको छ। यसबाट आवास व्यवस्थापनमा केही सहजता हुने भए पनि प्रतियोगिताको सञ्चालन खर्च र बजेट व्यवस्थापनमा थप दबाब पर्ने देखिएको छ।

राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका लागि खेल आयोजना गर्ने अवसर मात्र नभई खेल पर्यटन, स्थानीय अर्थतन्त्र र दीर्घकालीन खेल पूर्वाधार विकासको सम्भावना पहिल्याउने महत्वपूर्ण अवसर पनि हो।

व्यवस्थापकीय चुनौतीका बीच शुरु हुन लागेको प्रतियोगितालाई सफल बनाउन संघीय सरकार, प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद तथा सम्बन्धित खेल संघहरूबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ। खेलाडीको सुरक्षा, स्वास्थ्य, आवास, खानपान र निष्पक्ष प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्नु आयोजकको प्रमुख जिम्मेवारी हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button