बौद्ध दर्शनले नेपाल र चीनबीचको सम्बन्ध कसिलो बनेको नेपालका लागि चिनियाँ राजदूतको भनाइ

नेपालका लागि चीनका राजदूत छन सोङ्गले लुम्बिनीमा जन्मिएका गौतम बुद्धका उपदेशले नेपाल र चीनबीचको सम्बन्धलाई कसिलो रुपमा जोडेको बताउनु भएको छ। दुई देशबीचको सम्बन्ध प्राचिनकालीन रहेको भन्दै उहाँले बौद्ध दर्शन प्रमुख कडीका रुपमा रहेको बताउनु भएको नेपाल प्रेस अनलाइनले लेखेको छ।

लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनीस्थित चिनियाँ मन्दिरको आयोजनामा भएको दुई देशबीचको सांस्कृतिक आदान प्रदान कार्यक्रममा बोल्दै राजदूत छन सोङ्गले फहियान र ह्वेनसाङ भिक्षुले लुम्बिनी भ्रमण गरी लेखेको इतिहासले नै बुद्ध जन्मस्थल नेपालमा रहेको पहिचान गराउन सकेको बताउनुभयो।

अरनिको, मञ्जुश्री सहितका व्यक्तित्वहरुको प्रसङ्ग कोट्याउदै राजदूत छन सोङ्गले बुद्ध जन्मेको देश छिमेकी हुनु नै चीनका लागि गौरवको विषय भएको उल्लेख गर्नुभयो। ‘अझै पनि कतिपयले बुद्ध लुम्बिनीमा जन्मेका होइनन् भन्छन्, उहाँले भन्नुभयो, ‘त्यो सरासर गलत कुरा हो। नेपालीहरुले हाकाहाक्की भन्नुभए हुन्छ, हेर्न बोलाए पनि भयो, बुद्ध लुम्बिनीमा नै जन्मेका हुन भन्नुपर्छ।’
चीनमा रैथाने धर्महरु पनि रहेको भन्दै तर अहिले बुद्धका शिक्षाहरु जीवनोपयोगी रहेकाले नै चीनमा सबैभन्दा धेरै मानिसहरु बुद्ध धर्म प्रति आर्कषित भएको उहाँले बताउनुभयो। पवित्र मनोभावनाले चिनियाँहरु लुम्बिनीको भ्रमणमा आउने गरेको उहाँले बताउनुभयो। उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध दर्शनको प्रवद्र्धनमा महत्वपूर्ण काम गरिएको भन्दै चीन सरकारले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

त्यस्तै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले लुम्बिनी जस्तो पवित्रभूमिमा स्थापित बौद्ध विश्वविद्यालय संसारकै एकमात्रै शैक्षिक संस्था रहेको भन्दै विश्वविद्यालयमा संसारबाट पढ्न आउने वातावरण निर्माण गरिरहेको बताउनुभयो।

बौद्ध धर्म मात्रै नभई शिक्षा रहेको भन्दै उहाँले बौद्ध शिक्षा प्रवद्र्धनका लागि विश्वविद्यालयले काम गरिरहेको बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि लक्षित गरेर छात्रावासहरु निर्माण गरिरहेकाले धेरैभन्दा धेरै विद्यार्थीहरु लुम्बिनीको पवित्रभूमिमा अध्ययन गर्न आउने विश्वास गर्नुभयो।

देवदहमा २० हजार विदेशी विद्यार्थी अध्ययन गराउने योजनासहित विश्वविद्यालयले परियोजना सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले चीनबाट एक सयजनाभन्दा धेरै विद्यार्थी अध्ययन गर्न आइसकेको भन्दै त्यो संख्या हजारौं बनाउने योजनामा सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो।

उपकुलपति बज्राचार्यले चीन र नेपालबीचको सम्बन्ध ७० वर्षमा मात्रै सिमित नरहेको भन्दै प्राचीनकालदेखि नै दुई देशको सम्बन्ध कायम रहेको बताउनुभयो। मञ्जुश्री, फाहियान, ह्वेनसाङ्ग जस्ता बौद्ध अनुयायीबाट नै दुई देशबीचको सम्बन्ध कायम रहेको उहाँले बताउनुभयो। त्यो सम्बन्धलाई अरनिकोले अझै मजबुद बनाएको उहाँले स्मरण गर्नुभयो।

कार्यक्रममा दुई देशका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो। लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्ययनरत चिनियाँ तथा नेपाली विद्यार्थीहरुले चिया संस्कृतिको प्रदर्शनी गरेका थिए।

लुम्बिनी बौद्ध विश्वविद्यालयमा हाल विद्यावारिधि र स्नातकोत्तर तहमा गरी एक सय बढी चिनियाँ विद्यार्थीहरु अध्ययनरत रहेका छन्। विश्वविद्यालयले विदेशी विद्यार्थीलाई लक्षित गरी शैक्षिक कार्यक्रम सञ्चालन तथा पूर्वाधारको विकासको योजना अघि बढाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button