१२ मंसिर २०८३, शुक्रबार

सेवा व्यापार विस्तारका लागि चीनको पाँचवर्षीय योजना सार्वजनिक, विदेशी कम्पनीलाई बजार पहुँच बढाइने

ड्रागन मिडिया समाचार कक्ष

विश्वव्यापी व्यापारमा संरक्षणवाद र व्यापारिक अवरोध बढिरहेका बेला चीनले आफ्नो सेवा क्षेत्रलाई अन्तर्राष्ट्रिय अर्थतन्त्रसँग थप एकीकृत गर्ने उद्देश्यसहित सेवा व्यापार विकाससम्बन्धी पाँचवर्षीय योजना सार्वजनिक गरेको छ। योजनाले विदेशी कम्पनीका लागि चिनियाँ बजारमा पहुँच विस्तार, सीमापार व्यावसायिक गतिविधिमा सहजीकरण तथा उच्चस्तरीय खुलापनलाई प्राथमिकता दिएको छ।

चीनको वाणिज्य मन्त्रालय, चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको प्रचार विभाग तथा उद्योग र सूचना प्रविधि मन्त्रालयसहित आठ सरकारी निकायले बिहीबार संयुक्त रूपमा सार्वजनिक गरेको योजनामा सात प्रमुख क्षेत्रअन्तर्गत २५ वटा प्राथमिक कार्य निर्धारण गरिएको छ।

पन्ध्रौँ पञ्चवर्षीय योजना अवधि (सन २०२६–२०३०) का लागि तयार गरिएको यस योजनाले सन २०३० सम्म चीनको सेवा व्यापार विस्तार गर्ने, कुल वैदेशिक व्यापारमा सेवा व्यापारको हिस्सा बढाउने, आयात तथा निर्यातबीच थप सन्तुलन कायम गर्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

ग्लोबल टाइम्सका अनुसार सन २०२५ मा चीनको कुल सेवा व्यापार पहिलोपटक ८० खर्ब युआन नाघेर ८० खर्ब ८० अर्ब युआन पुगेको थियो। यो चीनको कुल वैदेशिक व्यापारको १५.१ प्रतिशत हो।

सोही वर्ष चीनको सेवा आयात ४४ खर्ब ६० अर्ब युआन पुगेको थियो। चौधौँ पञ्चवर्षीय योजना अवधि (सन २०२१–२०२५) मा सेवा आयातको औसत वार्षिक वृद्धिदर ११.१ प्रतिशत रहेको थियो।

उच्च गुणस्तरीय सेवाप्रति आन्तरिक माग बढ्दै गएको अवस्थालाई सम्बोधन गर्न चीनले मूल्य अभिवृद्धियुक्त दूरसञ्चार तथा स्वास्थ्य सेवाजस्ता प्रमुख क्षेत्रमा विदेशी कम्पनीको बजार पहुँच क्रमशः विस्तार गर्ने भएको छ। यसमार्फत अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनीलाई चीनमा लगानी गर्न आकर्षित गर्नुका साथै चिनियाँ उपभोक्ताका लागि विविध तथा गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

चीनले आयातका लागि प्रोत्साहन गरिने सेवाहरूको सूचीसमेत परिमार्जन गर्ने भएको छ। अनुसन्धान तथा विकास, डिजाइन, श्रोत पुनर्चक्रण र वातावरणीय व्यवस्थापनसम्बन्धी सेवाको आयात विस्तार गरिनेछ। त्यसैगरी स्वास्थ्य सेवा, प्रदर्शन कला तथा खेलकुद आयोजनालगायत उच्च गुणस्तरीय उपभोक्ता सेवाको आयातलाई प्रोत्साहन गरिनेछ।

ह्वाछ्याओ विश्वविद्यालयअन्तर्गत सामुद्रिक रेशम मार्ग संस्थानका प्राध्यापक हु छीमुले चीनको औद्योगिक स्तरोन्नति र उपभोगको बदलिँदो प्रवृत्तिले उच्चस्तरीय तथा विशिष्टीकृत सेवाको माग बढाइरहेको बताएका छन्।

उनका अनुसार विशेष प्राविधिक दक्षता र व्यावसायिक अनुभव भएका अन्तर्राष्ट्रिय सेवा प्रदायक कम्पनीका लागि चीनमा उल्लेख्य व्यावसायिक अवसर सिर्जना भइरहेको छ।

चीनले सीमापार सेवा व्यापारसम्बन्धी निषेधात्मक सूची प्रणालीलाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्नुका साथै सेवा क्षेत्रको खुलापन विस्तार गर्न सञ्चालित एकीकृत परीक्षण तथा नमुना कार्यक्रमलाई अघि बढाउने भएको छ।

बहुराष्ट्रिय कम्पनीको सीमापार व्यावसायिक गतिविधि सहज बनाउन तथ्याङ्क, पूँजी तथा जनशक्तिको अन्तरदेशीय आवागमनसम्बन्धी व्यवस्थामा पनि सुधार गरिनेछ।

योजनाअनुसार आवश्यक योग्यता पूरा गरेका क्षेत्रहरूमा बहुराष्ट्रिय कम्पनीका विभिन्न एकाइबीच व्यक्तिगत सूचना सीमापार आदानप्रदान गर्न सहज हुने व्यवस्था परीक्षण गरिनेछ। महत्त्वपूर्ण तथ्याङ्क तथा व्यक्तिगत सूचना विदेश पठाउँदा आवश्यक पर्ने सुरक्षा मूल्याङ्कन प्रक्रियालाई थप प्रभावकारी बनाइनेछ।

यसबाट सेवा व्यापारमा संलग्न कम्पनी तथा संस्थाले प्रचलित कानुनी व्यवस्था पालना गर्दै सीमापार तथ्याङ्क आदानप्रदान गर्न सहज हुने अपेक्षा गरिएको छ।

योग्यता पुगेका कम्पनीलाई स्वदेशी तथा विदेशी मुद्रा समेटिएको एकीकृत कोष व्यवस्थापन प्रणाली सञ्चालन गर्न सहयोग गरिनेछ। यसले बहुराष्ट्रिय कम्पनीका विभिन्न एकाइबीच वित्तीय श्रोत परिचालन सहज बनाउनेछ। विदेशी व्यवस्थापक, प्राविधिक विशेषज्ञ तथा अन्य व्यावसायिक जनशक्तिको सीमापार आवागमनलाई पनि थप सुविधाजनक बनाइनेछ।

अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक नियमसँग घरेलु व्यवस्थाको सामञ्जस्य बढाउने विषयलाई चीनले योजनाको अर्को महत्त्वपूर्ण प्राथमिकताका रूपमा अघि सारेको छ।

योजनाअनुसार विश्व व्यापार संगठनअन्तर्गत विद्युतीय व्यापार तथा लगानी सहजीकरणसम्बन्धी सम्झौताको कार्यान्वयनका लागि चीनले अग्रणी परीक्षण कार्यक्रम सञ्चालन गर्नेछ। सेवा व्यापार तथा लगानीसम्बन्धी अन्तर्राष्ट्रिय वार्तामा पनि सक्रिय सहभागिता जनाउनेछ।

चीनले अमेरिका र युरोपेली संघलगायत विश्वका प्रमुख अर्थतन्त्रसँग सेवा व्यापारसम्बन्धी नीतिगत संवाद तथा पारस्परिक लाभमा आधारित सहकार्य विस्तार गर्ने लक्ष्य राखेको छ।

पर्यटन, वित्त तथा बीमा, दूरसञ्चार, कम्प्युटर सेवा, क्लाउड सेवा सञ्चालन र सिर्जनात्मक डिजाइनजस्ता क्षेत्रलाई अन्तर्राष्ट्रिय सहकार्यका प्राथमिक क्षेत्रका रूपमा पहिचान गरिएको छ।

प्राध्यापक हुका अनुसार पश्चिमा मुलुकमा चीनसँगको व्यापारिक असन्तुलनसम्बन्धी बहस मुख्यतः वस्तु व्यापारमा केन्द्रित हुने गरेको भए पनि अमेरिकालगायत विकसित अर्थतन्त्रले चीनसँगको सेवा व्यापारमा लामो समयदेखि उल्लेख्य बचत हासिल गर्दै आएका छन्।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयको तथ्याङ्कअनुसार सन २०२५ मा चीनसँगको सेवा व्यापारमा अमेरिकाले ३४ अर्ब ४० करोड अमेरिकी डलर बचत हासिल गरेको थियो। यो सन २०२४ को तुलनामा ६.९ प्रतिशतले बढी हो।

चीनको अन्तर्राष्ट्रिय व्यापार तथा अर्थशास्त्र विश्वविद्यालयअन्तर्गत चिनियाँ खुला अर्थतन्त्र अध्ययन प्रतिष्ठानका प्राध्यापक ली छाङआनले सेवा व्यापारमा घाटा हुँदाहुँदै पनि आयात विस्तार गर्ने चीनको नीतिले थप सन्तुलित व्यापार प्रवर्द्धन गर्ने प्रतिबद्धता प्रतिबिम्बित गरेको बताएका छन्।

व्यापार बचत हासिल गर्नु मात्र आफ्नो उद्देश्य नरहेको चीनको घोषित नीतिसँग सेवा आयात विस्तारको योजना मेल खाने उनको भनाइ छ।

विश्वव्यापी आर्थिक वृद्धिमा व्यापारिक अवरोध र संरक्षणवादी नीतिले दबाब सिर्जना गरिरहेका बेला चीनले आफ्नो विस्तारित घरेलु सेवा बजारलाई अन्तर्राष्ट्रिय कम्पनीका लागि व्यावसायिक अवसरमा रूपान्तरण गर्न खोजेको लीले उल्लेख गरेका छन्।

प्रस्तावित नीतिगत सुधारले चीनको सेवा क्षेत्रको आधुनिकीकरण, विदेशी लगानी विस्तार, अन्तर्राष्ट्रिय प्रविधि तथा व्यावसायिक ज्ञानको आदानप्रदान र विश्व अर्थतन्त्रसँगको एकीकरणलाई थप गति दिने लक्ष्य राखेको छ।

चीनको नयाँ पाँचवर्षीय सेवा व्यापार विकास योजनाले वस्तु व्यापारसँगै ज्ञान, प्रविधि, वित्त, अनुसन्धान र उच्च गुणस्तरीय सेवामा आधारित आर्थिक सहकार्य विस्तारलाई प्राथमिकतामा राखेको छ। योजनाअन्तर्गत घोषित सुधारको प्रभावकारी कार्यान्वयनले चीन र उसका व्यापारिक साझेदारबीच पारस्परिक आर्थिक अवसर विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button