नेपालको गणतन्त्र संकटमा, राजामाथिकाे दमन र सत्ताको षड्यन्त्रको खुलासा !

# अविनाश शर्मा
नेपालको राजनीतिक आकाशमा फेरि एकपटक तुफान मडारिएको छ। चैत १५ गतेको घटनाले देशभर तरंग ल्याएको छ, र यसको पछाडि लुकेको सत्यले हरेक सचेत नागरिकको मनमा प्रश्न उठाइरहेको छ। सरकारले राजा ज्ञानेन्द्र शाहको निर्मल निवासबाट सशस्त्र प्रहरीको सुरक्षा घटाएर २५ बाट १६ मा झारेको छ। यो निर्णय केवल संयोग होइन, यो इतिहासको पुनरावृत्ति र सत्ताको गहिरो षड्यन्त्रको संकेत हो। सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईंलाई यो कदमको पछाडिको जोखिम र परिणामबारे पूर्ण जानकारी छ कि छैन? यदि छैन भने, यो लेखले तपाईंको आँखा खोल्नेछ। यदि छ भने, तपाईं किन मौन हुनुहुन्छ?
चैत १५ को घटनापछि राजावादी आन्दोलनका पात्रहरू राजेन्द्र लिङ्देन, कमल थापा, डा. जगमान गुरुङ, डा. राजेश अहिराज, दुर्गा प्रसाई, स्वागत नेपाल, रविन्द्र मिश्र र धवल शम्शेर राणा माथि विभिन्न प्रतिक्रिया आइरहेका छन्। यी सबै नाम तपाईंसँग जोडिएका छन्, प्रधानमन्त्रीज्यू । राजेन्द्र र कमल तपाईंको पार्टीका सहकर्मी नै हुन्। डा. जगमानलाई तपाईंले प्रज्ञा प्रतिष्ठानमा नियुक्त गर्नुभयो, डा. राजेशलाई तपाईंको नेकपा एमालेले प्रदेशमा प्रमुखको जिम्मेवारी दियो। दुर्गा प्रसाई तपाईंको केन्द्रीय सदस्य थिए, स्वागत नेपाल तपाईंकै जिल्लाको पूर्व एमाले हो, र धवल शम्शेर पूर्वएमालेका तर्फबाट मेयर र हाल तपाईंसँगको सहकार्यबाटै संसदमा छन्। रविन्द्र मिश्रको खुला पात्रत्व त सबैलाई थाहा छ। यी सबै पात्रहरूको गतिविधि तपाईंबाट लुकेको छैन। तैपनि, निर्मल निवासको सुरक्षा घटाउने निर्णय किन?
इतिहासले हामीलाई सधैं चेतावनी दिइरहन्छ। २०५८ जेष्ठ १९ को दरबार हत्याकाण्ड अघि पनि तत्कालीन डीआईजी अशोक श्रेष्ठको नेतृत्वमा रहेको प्रहरी सुरक्षा हटाइएको थियो। त्यतिबेला गृहमन्त्री रामचन्द्र पौडेल थिए। आज तपाईंले बामपन्थी गठबन्धन तोडेर प्रचण्डको साथ छाडी रामचन्द्रलाई राष्ट्रपति बनाउन समर्थन गर्नुभयो। यो संयोग मात्र हो त? त्यो प्रहरी सुरक्षा हटाउनु दरबार हत्याकाण्डका योजनाकारहरूलाई बाधक थियो। के आज निर्मल निवासको सशस्त्र प्रहरी पनि कसैको योजनामा बाधक बनिरहेको छ? सेनाका उच्च अधिकारीहरूले तपाईंलाई यो कदम चाल्न उक्साइरहेका छन् भने होशियार हुनुहोस्, प्रधानमन्त्रीज्यू !
२०६३ पछि गिरिजाप्रसाद कोइरालाले राजा ज्ञानेन्द्रको सुरक्षामा सशस्त्र प्रहरी खटाएका थिए, तर सेनाको असन्तुष्टि स्पष्ट थियो। माओवादी हिंसाको नसो र दरबार हत्याकाण्डको समयमा सेनापति प्रज्वल शम्शेर जबराको भूमिकाबारे सैनिक जनरल चिनियाँ बहादुर बस्नेतको पुस्तकले धेरै कुरा खोल्छ। कुमार फुदुङ कसरी माओवादी बने, यो पनि तपाईंलाई थाहा छ। तपाईंविरुद्ध विषवमन गर्ने वालेन साह, तपाईंका युवा नेता महेश बस्नेत, कांग्रेसका गगन थापा र तपाईंकै क्याबिनेटमा रहेका प्रदीप पौडेलको केन्द्र एउटै हो भन्ने कुरा कसैबाट लुकेको छैन।
यो सबैको पछाडि एउटै शक्ति छ कि जसले राजा ज्ञानेन्द्रलाई दलाइ लामा बनाउन वा तपाईंहरूलाई असरफ घानीको हालतमा पुर्याउन खोजिरहेको छ। इतिहास पुरानै रूपमा दोहोरिँदैन, तर यसका संकेतहरू स्पष्ट छन्। निर्मल निवासको सुरक्षा घटाउनु केवल शुरुवात हो। यो कदमले राजावादी आन्दोलनलाई उत्तेजित मात्र बनाउँदैन, देशलाई अस्थिरताको भुमरीमा धकेल्न सक्छ। जनताको क्रोध उर्लँदैछ, र यो क्रोधले सत्ताको ढोका ढक्ढक्याउन थालेको छ।
प्रधानमन्त्रीज्यू, तपाईंले यो देशको नेतृत्व सम्हाल्नुभएको छ। तर, यदि तपाईंलाई सेनाको दबाब वा बाह्य शक्तिको उक्साहटले यो निर्णय गराउँदैछ भने, यो देशको भविष्य तपाईंको हातमा छ। जनताले प्रश्न गर्न थालिसकेका छन् – के यो गणतन्त्र दिगो छ? यदि छैन भने, दोष कसको? समयमै सोच्नुहोस्, किनभने इतिहासले कसैलाई माफी दिँदैन।





