चैत १५ को घटनामा सरकारको दमन र हिंसाको निन्दा, निष्पक्ष छानबिनको माग

 

काठमाडौं, २०८१ चैत १७ – नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) ले चैत १५ गते काठमाडौंको तीनकुने मैदानमा राजसंस्था पक्षधर राष्ट्रवादी समूहले आयोजना गरेको शान्तिपूर्ण जनप्रदर्शन र जनसभामाथि सरकारले गरेको दमनको कडा निन्दा गरेको छ। पार्टीका महासचिव सीपी मैनालीद्वारा जारी प्रेस वक्तव्यमा उक्त दिन भएको तोडफोड, आगजनी, हिंसा र लुटपाटका घटनाहरूको मुख्य जिम्मेवार सरकारी पक्षको गैरजिम्मेवारी र योजनाबद्ध दमन भएको ठहर गरिएको छ।

वक्तव्यमा भनिएको छ, “तीनकुनेमा शान्तिपूर्ण सभा चलिरहँदा प्रहरीले बिनाकारण सभास्थल नजिकका अग्ला घरहरूबाट अश्रुग्यास प्रहार गरेपछि सहभागीहरू उत्तेजित भए। जडिबुटी र बालकुमारी नजिकको भाटभटेनी सुपर मार्केटमा भएको आगजनी र लुटपाट रोक्न सुरक्षाकर्मीले तदारुकता नदेखाउँदा सरकारको नियत स्पष्ट हुन्छ।” साथै, आन्दोलनकारीमाथि गोली प्रहार र एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको घटनाले पनि सरकारी पक्षको गैरजिम्मेवारी उजागर भएको नेकपा (माले) को दाबी छ।

पार्टीले सरकारले राष्ट्रवादी समूहको शान्तिपूर्ण प्रदर्शनलाई असफल बनाउन र बदनाम गर्न योजनाबद्ध रूपमा दमन गरेको आरोप लगाएको छ। “घटनापछि विस्थापित राजा ज्ञानेन्द्र शाहसहित राष्ट्रवादी नेताहरूलाई दोष लगाउने र कठोर दण्ड दिने हल्ला चलाएर सरकारले आफ्नो दमनकारी नियत छोप्न खोजेको छ,” वक्तव्यमा उल्लेख छ। यद्यपि, राष्ट्रवादी नेताहरूबाट पनि गम्भीर कमजोरी भएको र बाह्य तत्वको घुसपैठको सम्भावना रहेको स्वीकार गरिएको छ।

नेकपा (माले) ले घटनाको निष्पक्ष छानबिनका लागि तत्काल उच्चस्तरीय नागरिक छानबिन आयोग गठन गर्न माग गरेको छ। साथै, दमनमा मारिएका पत्रकार सुरेश रजक र कीर्तिपुरका गाडी चालक सविन महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारलाई राहत र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। गिरफ्तार राजनीतिक कार्यकर्ताको रिहाइ, तोडफोड र लुटपाटका पीडितलाई क्षतिपूर्ति, र राजाको मानमर्दन बन्द गर्न पनि जोड दिइएको छ।

पार्टीले राष्ट्रवादी समूहहरूलाई आफ्नो अभियानको गम्भीर समीक्षा गर्न र स्पष्ट अजेन्डा र वैज्ञानिक योजना बनाएर अघि बढ्न सुझाएको छ। अन्त्यमा, संसदवादी शासक समूहको कुशासनविरुद्ध सबै देशभक्त शक्तिहरूलाई एकजुट भई “संपूर्ण क्रान्ति” का लागि अघि बढ्न आह्वान गरिएको छ।

“चैत १५ को घटना सरकारको दमनकारी नीति र राष्ट्रवादी अभियानको कमजोरी दुवैको परिणाम हो। यसबाट शिक्षा लिएर अघि बढ्नुपर्छ,” महासचिव मैनालीले भने।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button