२५ भाद्र २०८३, बिहीबार

आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अहिले राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्शको ७४औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मक रुपमा उद्योग–व्यवसायलाई अगाडि बढाउन आग्रह गर्नुभएको साझाखबर अनलाइनले लेखेको छ।
आजको कृत्रिम बौद्धिकताकोसमेत सदुपयोग गरी उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । “कसैलाई गालीगलौज, बदनाम र भ्रम छर्नका लागि सूचना प्रविधिको प्रयोग गर्नुहुँदैन । यसको प्रयोग मानिसलाई सहज रुपमा सेवासुविधा दिनका लागि हुनुपर्छ । हामीले बाह्य लगानी र संयुक्त लगानीलाई अझ अगाडि बढाउनुपर्ने हुन्छ । हरेक क्षेत्रमा सम्भावना छ भनेर तपाईंहरुले कन्भिन्स गर्न सक्नुहुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले चेम्बर आफ्ना निम्तिमात्रै होइन, देश र समाजका लागि नयाँ सोचका साथ एकताबद्ध भएर अगाडि बढिरहेको समेत बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारले आर्थिक विकासका लागि ल्याएका अध्यादेशप्रति चेम्बरजस्ता संस्थाहरुले समर्थन गरेको स्मरण गर्दै सही र गलतका आधारमा समर्थन र विरोध गर्ने यस्ता शैलीहरु प्रशंसनीय रहेको बताउनुभयो ।
“आज हामीलाई सुशासन र विकास चाहिएको छ । सुशानमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुनसक्छ । त्यसलाई नियन्त्रण गर्नका लागि तपाईंहरुको पनि सहयोग चाहिन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “देशको परिवर्तनका लागि योगदान गरेका ठूला पार्टीहरु मिलेर सरकार बनेको छ । त्यसले स्थिरता दिएको आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो सिलसिला कायम रहन्छ । त्यसकारण तपाईंहरु ढुक्क भएर लगानी गर्नुस् । देशको विकासका योगदान गर्नुस् ।”
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button