१५ महिनामा ६९ अमेरिकी नागरिक नेपालबाट देश निकाला

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शनमा सहभागी भएर सरकारको विरोध गरेका अमेरिकी नागरिक जुलियन किर्पाललाई देश निकाला (डिपोर्ट) गरिएको छ। उहाँलाई अब २ वर्षसम्म नेपाल प्रवेशमा रोक लगाइएको छ।

उहाँको पासपोर्ट पनि नेपालको अध्यागमन विभागले कालोसूचीमा राखेको नेपाल खबर अनलाइनले लेखेको छ। अब प्रतिबन्ध सकिएपछि नेपाल आए पनि उनको रेकर्ड अध्यागमनमा देखिनेछ।

जुलियन चैत १४ गतेको राप्रपाको प्रदर्शनमा सहभागी भएर सरकारविरुद्ध नारा लगाएपछि पक्राउ पर्नु भएको थियो। सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो। त्यसको विरोधमा राप्रपाले प्रदर्शन गरेको थियो। सोही प्रदर्शनमा उहाँले सरकारविरुद्ध नारा लेखिएको प्लेकार्ड समेत बोक्नु भएको थियो।

पक्राउपछि प्रहरीले आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा बुझाएको थियो। अध्यागमन विभागले अनुसन्धान गर्दा उहाँ पर्यटन भिसामा नेपाल आएको खुलेको थियो। तर घुम्न भनेर नेपाल आउनु भएका उहाँ राजनीतिक गतिविधिमा भेटिएपछि कारबाहीमा पर्नु भएको हो।

गएको फागुन ३ गते अवैध रूपमा विदेशी मुद्रा बाह्य मुलुक लैजान लागेको आरोपमा अमेरिकी नागरिक ४६ वर्षीया नी यान पनि पक्राउ पर्नु भएको थियो। बाटिक एयरबाट मलेसिया जान लाग्नु भएको उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले पक्राउ गर्‍यो। सुरक्षाकर्मीले जाँच गर्दा उहाँको झोलाबाट १२ हजार ७४८ अमेरिकी डलर, २४९ सिंगापुर डलर, १२ हजार इन्डोनेसियन रूपियाँ, १ सय मलेसियन रिङ्गिट, विभिन्न कम्पनीका मोबाइल १९ वटा, सिम कार्ड २८ थान र मेमोरी कार्ड १२२ वटा फेला परेको थियो।

उहाँविरुद्ध विदेशी मुद्रा अपचलनको मुद्दा दायर भयो। चैतमा उहाँलाई गृहसचिव स्तरबाट देश निकाला गर्ने निर्णय भयो। अब उहाँलाई तीन वर्ष नेपाल प्रवेश गर्न निषेध गरिएको छ।

अर्का अमेरिकी नागरिक मुस्ताङको लोमान्थाङमा भेटिए। जहाँ पुग्न विदेशी नागरिकलाई अनुमतिबिना निषेध छ। तर ती अमेरिकी पुरुषसँग अनुमति थिएन। प्रहरीले उनलाई पनि प्रक्राउ गरेर अध्यागमन विभाग डिल्लीबजारमा बुझायो। अनुमति नलिई गएको पाइएपछि उनलाई पनि डिपोर्ट गरिएको छ। उनलाई एक वर्ष नेपाल आउन रोक लगाइएको छ।

अध्यागमन विभागका अनुसार सन् २०२४ यता शुक्रबारसम्म (अप्रिल १८) सम्ममा नेपालबाट ६९ जना अमेरिकी डिपोर्ट भइसकेका छन्। सन् २०२४ मा ५३ जना र सन् २०२५ को अप्रिल १८ सम्ममा १६ जनालाई डिपोर्ट गरिएको अध्यागमन विभागको तथ्यांक छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button