नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको परराष्ट्रमन्त्रीको भनाइ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतङ्कवादको विपक्षमा रहेको र जुनसुकै प्रकार र प्रकृतिको आतङ्कवादको कडा शब्दमा निन्दा गर्ने बताउनुभएको छ । भारतको कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न नेपालस्थित भारतीय दूतावासद्वारा शनिबार दूतावासमा आयोजित सभामा उहाँले नेपाल सधैँ आतङ्कवादको विरुद्धमा र शान्तिको पक्षमा रहेको स्पष्ट गर्नुभएको हो । उहाँले भन्नुभयो “नेपालले आतङ्कवादको सबै स्वरूप र अभिव्यक्तिहरूको कडा निन्दा गर्दछ । नेपाल जहाँ, जहिले र जुनसुकै उद्देश्यका लागि गरिने आतङ्कवादी क्रियाकलापको सदैव विपक्षमा उभिन्छ ।”
मन्त्री डा. राणाले आतङ्कवादका विषयमा व्यवहार गर्दा कहिल्यै दोहोरो मापदण्ड अपनाउन नहुने बताउँदै नेपाल आफ्नो भूमि कुनै पनि आतङ्कवादी समूहले कुनै पनि कारण र कुनै पनि देश तथा जनताका विरुद्ध प्रयोग गर्न नसकोस् भन्ने पक्षमा दृढतापूर्वक प्रतिबद्ध रहेको पनि स्पष्ट गर्नुभयो । त्यसैले कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलाको पनि नेपालले कडा शब्दमा निन्दा र भर्सना गरेको मन्त्री डा. राणाले बताउनुभयो ।
उहाँले यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको पक्षमा नेपाल उभिएको बताउनुभयो । नेपाल आतङ्कवादविरुद्धको लडाईमा भारतसँग काँधमा काँध मिलाएर उभिएको उहाँले बताउनुभयो । नेपाल र भारतबिच गहिरो सम्बन्ध रहेको स्मरण गर्दै उहाँले यो सम्बन्ध केवल कूटनीतिको विषय मात्र नभएर सदियौँदेखिको साझा इतिहास, संस्कृति र सहकार्य पनि हो भन्नुभयो ।
मन्त्री डा. राणाले पहलगाम त्रासदीको शिकार भएका नेपाली युवा सुदीप न्यौपानेको शव र अन्य प्रभावितहरूलाई नेपाल ल्याउन सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद पनि दिनुभयो ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button