चीनमा नेपाललाई वर्ष २०२५ को ‘लोकप्रिय सांस्कृतिक गन्तव्य’ घोषणा

नेपाललाई चीनको क्वाङ्चौमा सम्पन्न क्वाङ्चौ अन्तर्राष्ट्रिय पर्यटन मेला (जीआईटीएफ–२०२५) मा ‘लोकप्रिय सांस्कृतिक पर्यटन गन्तव्य’ उपाधि प्रदान गरिएको छ। सांस्कृतिक प्रस्तुतिबाट प्रभाव पार्दै नेपालले चिनियाँ पर्यटन बजारमा गहिरो छाप छाडेको नेपाल पर्यटन बोर्डले जनाएको छ। १५ देखि १७ मेमा मेला आयोजना गरिएको अनलाइनले खबरले लेखेको छ।
मेलामा नेपाली प्याभिलियनले विश्वविख्यात पदयात्रा मार्ग, युनेस्को सूचीमा परेका सम्पदा, धार्मिक र ग्रामीण पर्यटन अनुभव प्रदर्शन गरेको बोर्डले जनाएको छ। सांस्कृतिक नृत्य, बीटुबी व्यापार बैठक र जानकारीमूलक सत्र पनि आयोजना गरिएका थिए।
क्वाङ्चौबाट हरेक दिन चाइना साउर्दन एयरलाइन्सले काठमाडौँ उडान भर्दै आएको छ। नेपाल एयरलाइन्सले निकट भविष्यमा नै क्वाङ्चौबाट काठमाडौँ उडान गर्ने तयारी हुँदै गरेको क्वाङ्चौ महावाणिज्यदूत भरत खनालले जानकारी दिनुभयो।





