पूर्वाधार विस्तारसँगै ग्रामीण भेगका बासिन्दाको जीवनशैलीमा सुधार

नेपालको सुदूरपश्चिम प्रदेश सरकारको पहलमा निर्माण भइरहेको सतबाज–श्रीभावर–हाट–दार्चुला सडक आयोजनाले बैतडी जिल्लाको ग्रामीण भेगका बासिन्दाको दैनिकीमा सकारात्मक परिवर्तन ल्याएको छ। विगतमा दसैंतिहार पछि कामको खोजीमा भारत जान बाध्य रहेका सूर्नया गाउँपालिका–७ का धनबहादुर महरा पछिल्लो दुई वर्षदेखि गाउँमै कृषि पेशाबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। सडक पहुँच विस्तारसँगै गाउँमै उत्पादन गरिएको तरकारी बजारसम्म सहजै आपूर्ति हुन थालेपछि महरालगायत कृषकहरू आन्तरिक रोजगारीमा आकर्षित हुन् थालेका छन्।
‘‘पहिले फलाएको तरकारी बजारमा लैजान नसक्दा खेर जान्थ्यो, अहिले सडक सञ्जाल विस्तार भएसँगै व्यापारीले फोन गरेर बारीबाटै तरकारी मगाउने गर्नुभएको छ’’, महराले बताउनुभयो। गत वर्ष तरकारीबाट करिब दुई लाख रुपियाँ आम्दानी भएको उहाँको भनाइ छ।
त्यस्तै, सूर्नया–६ मल्लाढोलेका टेकेन्द्र बोहरा पनि सडक पूर्वाधारको विस्तारसँगै लाभान्वित हुनुभएको छ। पहिले सामान ओसारपसारका लागि टाढासम्म हिँड्नुपर्ने बाध्यता हटेको र अहिले थोक व्यापारी आफैँ गाउँमै सामान पु¥याउने गरेको उहाँले सुनाउनुभयो।
सुदूरपश्चिम प्रदेश सरकारको २०७५ साल चैत ११ गतेको निर्णयअनुसार प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण भइरहेको यो सडकले बैतडी जिल्लाका मध्य तथा दुर्गम भेगका बासिन्दालाई सुलभ आवागमनको सुविधा उपलब्ध गराएको छ।
८० किलोमिटर दूरीको सतबाज–दार्चुला सडकखण्डमा हालसम्म ६० किलोमिटरमा नियमित सवारी सञ्चालन भइरहेको छ।
सतबाज–श्रीभावर ४० किलोमिटर सडकमध्ये ६ किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको छ। चालु आर्थिक वर्षमा ४८ करोड ८२ लाख रुपियाँ बजेट विनियोजन भई स्तरोन्नती तथा कालोपत्रे कार्य तीव्र गतिमा अगाडि बढिरहेको पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख धिरेन्द्र भट्टले जानकारी दिनुभयो। यसैगरी, श्रीभावर–हाट खण्डअन्तर्गत २२ किलोमिटर सडकको ११ किलोमिटर कालोपत्रे कार्य सम्पन्न भएको र बाँकी खण्डको कालोपत्रे कार्य २५ करोड रुपियाँको ठेक्कामा अगाडि बढिरहेको कार्यालयले जनाएको छ।
सडक सञ्जाल विस्तारसँगै स्थानीयवासीको जीवनशैली सहज भएको सूर्नया–५ का देवसिंह महरा बताउनुहुन्छ, ‘‘सिँचाइको सुविधा भएका ठाउँमा कृषकले व्यवसायीक तरकारी खेती विस्तार गर्नुभएको छ। सानोतिनो कामका लागि भारत जानुपर्ने बाध्यता हटेको छ।’’
पुर्चाैडी–७ कोटिलाकी बागमती ऐरका अनुसार पहिले सदरमुकाम पुग्न दुई दिन लाग्ने गरेकोमा अहिले चार–पाँच घण्टामा नै पुग्न सकिने अवस्था सिर्जना भएको छ। सीमावर्ती झुलाघाटसम्म सहज आवागमन सुरु भएपछि उपभोग्य वस्तु सस्तो मूल्यमा बजारमा ल्याउन सकिने तथा कृषिजन्य वस्तुको सहज बजार व्यवस्थापनसमेत सम्भव भएको स्थानीयवासीले बताएका छन्।
सडक पूर्वाधारको विकासले ग्रामीण क्षेत्रमा कृषि, पशुपालन र साना व्यवसायको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गर्न मद्दत पुगेको प्रदेश सरकारको भनाइ छ।





