चीनको खुनमिङमा जारी दक्षिण एक्स्पो मेलामा नेपालको उपस्थिति

नेपालको सक्रिय सहभागिता रहने गरेको चीन-दक्षिण एसिया एक्स्पो बिहीबारदेखि चीनको दक्षिणी युनान प्रान्तको खुनमिङ सहरमा चलिरहेको छ । सन् २०१३ मा प्रथम एक्स्पोमा तत्कालीन उपराष्ट्रपति परमानन्द झाले भाग लिएको यो एक्स्पो चीनले दक्षिण एसियालाई बजार प्रवर्द्धन गर्न सुरुवात गरेको एउटा मञ्च हो । कान्तिपुर अनलाइनका अनुसार एक्स्पोसँगै २९औं खुनमिङ आयात-नियात मेला पनि जारी छ ।


चिनियाँ राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष वाङ तोङमिङले उद्घाटन समारोहमा बोल्दै दक्षिण एसियाली देशका नेता तथा व्यापारिक प्रतिनिधिहरूलाई स्वागत गर्नुभयो। उहाँले हालैका वर्षहरूमा चीन र दक्षिण एसियाली देशहरूले खुलापन, सहयोग र समावेशीकरणको भावनालाई पालना गरेको बताउँदै विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई गहन पारिएको, आर्थिक तथा व्यापारिक विकासको राम्रो गति कायम राखिएको र सबै देशका जनतालाई फाइदा पुग्ने परिणामहरू हासिल गरेको कुरा औंल्याउनुभयो ।

समारोहमा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले चीन र नेपालबीच दौत्य सम्बन्ध स्थापनाको भएको ७०औं वार्षिकोत्सव भएको स्मरण गर्दै व्यापार, पर्यटन, कृषि, ऊर्जा, सूचना प्रविधि, कनेक्टिभिटी, स्वास्थ्य लगायतका क्षेत्रमा चिनियाँ लगानी सहयोग अपेक्षित भएको बताउनुभयो । नेपाल भूपरिवेष्ठित नभएर चीनसँगको सहकार्य भूजडित भएको भन्दै ओलीले पोखरा र खुनमिङ सहरबीच सहर सम्बन्ध रहेको र त्यहाँस्थित चिनियाँ नागरिकलाई नेपाल भ्रमणको निम्तो दिनुभयो । राजदूत ओलीले प्राकृतिक स्रोत, सांस्कृतिक विविधता, जीवन्त बजार तथा विशाल सम्भाव्यताका कारण दक्षिण एसियासँग सहयोग र सहकार्य बढाउनु आवश्यक रहेको चर्चा गर्नुभयो।
साझा विकासका लागि एकता र सहयोग भन्ने नाराका साथ नवौं चीन-दक्षिण एसिया एक्स्पो जुन १९ तारिखदेखि २४ तारिखसम्म जारी रहनेछ । चीनको वाणिज्य मन्त्रालय र युनान प्रान्तीय जनसरकारले संयुक्त रूपमा आयोजना गरेको यो गतिविधि नै चीन र दक्षिण एसियाली देशहरूबीचको महत्त्वपूर्ण आर्थिक र व्यापारिक आदानप्रदान गतिविधिमध्ये एक हो । अफगानिस्तान, भुटान, बंगलादेश, लाओस, म्यानमार, माल्दिभ्स, श्रीलंका, युएई भियतनाम लगायत देशहरूले विभिन्न मञ्च तथा प्रदर्शनीमा भाग लिएको एक्स्पोमा नेपालबाट १२० भन्दा बढी प्रदर्शकहरूले सहभागिता जनाएका छन् ।


मेलाका कूल १७ पेभेलियनमा राखिएका १२ सय स्टलमध्ये १२० स्टलमा नेपाली व्यवसायीले हस्तकला, बुद्ध मूर्ति, चिया, कफी, पस्मिना, काष्ठकला, मूर्तिकला, थाङ्का, नेपाली कागजका उत्पादन, रुद्राक्ष, बुद्धचित्त, जडीबुटी लगायतका वस्तुहरू प्रदर्शनीमा राखेका छन् । हस्तकलात्मक वस्तुहरुको महत्त्व घट्दै गएको र नेपालको राजनीतिक तहबाट पनि बेवास्ता हुँदै आएकाले पहिलेको तुलनामा व्यापारिक सरगर्मी कम भएको प्रदर्शनमा सहभागी युनाइटेड ह्यान्डीक्राफ्ट इन्डस्ट्रिजका सुरेश ढकालले बताउनुभयो।
प्रथम एक्स्पो २०१३ मा उपराष्ट्रपति झा, २०१४ मा प्रधानमन्त्री सुशील कोइराला, २०१५ मा वाणिज्यमन्त्री सुनीलबहादुर थापा, २०१६ मा उपराष्ट्रपति नन्दबहादुर पुन, सन् २०१७ मा बाह्य मुलुक अन्तर्गत काठमाडौंमा, २०१८ मा पुनः पुन, २०१९ २०२३ मा रामसहायप्रसाद यादवले, २०२४ मा राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले भाग लिएकी थिइन् । बाह्य मुलुक र कोरोना महामारी बाहेक प्रायः सबैजसो एक्स्पोमा नेपालको उच्च सहभागिता रहने गरेको नेपाल-चीन कार्यकारी परिषद्का अध्यक्ष अनुपरञ्जन भट्टराईले स्मरण गर्नुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button