नेपाल आउने पर्यटक सङ्ख्यामा चीन र अमेरिकाको प्रतिष्पर्धा

नेपालको पर्यटन क्षेत्रले कोभिड–१९ महामारीपछि पुनः जुर्मुराउन थालेको छ। नेपाल पर्यटन बोर्डले मंगलबार सार्वजनिक गरेको सन् २०२५ को तथ्यांकअनुसार जुन महिनामा अमेरिकी पर्यटकको सङ्ख्यामा उत्साहजनक वृद्धि देखिएको छ । तर कुनै समय पर्यटकीय आगमनमा दोस्रो स्थानमा रहेको चीन भने खस्किएको छ ।
बोर्डले सार्वजनिक गरेको तथ्याङ्कमा जुन महिनामा नेपालको पर्यटनमा छिमेकी मुलुक भारतकै वर्चस्व छ । जुनमा मात्रै भारतबाट ३२ हजार ६ सय ६२ जना पर्यटक नेपाल भित्रिएका छन्, यसले नेपालको पर्यटन बजारमा भारतको निकै महत्त्वपूर्ण हिस्सा रहेको फेरि पनि देखाउँछ ।
तथ्याङ्कको दोस्रो स्थानमा संयुक्त राज्य अमेरिका आएको छ, जहाँबाट जुनमा मात्र ९ हजार ६ सय ९६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । कुनै समय दोस्रो स्थानमा रहेको चीन भने ६ हजार ७ सय ३६ पर्यटकसहित तेस्रो स्थानमा खुम्चिएको छ । यसै गरी चौथोमा बङ्गलादेश (५ हजार ४४९) र पाँचौँ स्थानमा बेलायत (२ हजार २८४) रहेका छन् ।
यो तथ्याङ्कले चिनियाँ बजारबाट आशा गरेका नेपालका पर्यटन व्यवसायीहरूलाई भने चिन्तित तुल्याएको छ । कोभिड महामारीको प्रभाव कम भएसँगै चिनियाँ पर्यटकहरू नेपालमा बढ्ने अपेक्षा गरिएको थियो । तर वास्तविकता भने उल्टिएको देखिन्छ । सन् २०१९ अघिसम्म भारतीयपछि नेपालमा सबैभन्दा धेरै पर्यटक चीनबाटै आउने गरेका थिए । तर त्यो स्थानमा अहिले अमेरिका उक्लिएको हो ।
नेपालभ्यूज अनलाइनका अनुसार सन् २०१९ सम्म उत्साहजनक रूपमा भित्रिएका चिनियाँ नागरिक कोभिड–१९ को महामारीपछि भने एकाएक घट्न थाले । महामारीपछि विश्वभरि जनजीवन सामान्य बन्दै गए पनि नेपालमा चिनियाँ पर्यटक घटे । चिनियाँ पर्यटकको नेपाल आगमनले पुरानो लय समात्न सकेन । र चीन नेपाल आउने पर्यटकको सङ्ख्यामा तेस्रो स्थानमा खुम्चियो ।
तर यसको ठीकविपरीत अमेरिकी पर्यटकको आगमन छ । कुल पर्यटन हिस्सामा अमेरिका अघि बढ्दै गएको छ ।
सन् २०२० मा चीनबाट जम्मा १९ हजार २५७ (८.४ प्रतिशत) पर्यटक आउँदा अमेरिकाबाट १७ हजार ७६७ (७.७ प्रतिशत) पर्यटक आएका थिए । तर सन् २०२१ मा भारतबाट आउने पर्यटकको हिस्सा ४२ प्रतिशत हुँदा चीनबाट जम्मा ४ प्रतिशत आए । जबकि अमेरिकी पर्यटकको हिस्सा बढेर १५ प्रतिशत पुग्यो ।
पर्यटक आगमनको यो तथ्यांकबिच सरकारले पर्यटन क्षेत्रको सुधारका लागि निरन्तर काम गरिरहेको दाबी गरेको छ । बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले यससम्बन्धी आफ्ना गतिविधिबारे जानकारी गराएका छन् ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button