बेइजिङमा ‘उदाउँदो नेपालः लगानीका अवसर’ विषयक अन्तर्क्रिया

नेपालमा अहिले लगानीका लागि के कस्तो वातावरण छ? लगानीका प्रक्रियाहरू के कस्ता छन्? लगानीका लागि नेपाल सरकारका पछिल्ला नीतिहरू के के हुन्? चिनियाँ लगानीकर्ताहरूले नेपालमा कसरी लगानी गर्नसक्छन्? भन्नेबारेमा जानकारी दिने उद्देश्यले मंगलबार बेइजिङस्थित नेपाली दूतावासले उदाउँदो नेपालः लगानीका अवसर विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।
चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले नेपालमा लगानी प्रवर्द्धन गर्न चिनियाँ लगानीकर्ताहरूलाई बोलाएर समीक्षा गर्नुका साथै आवश्यक जानकारी अद्यावधिक गरिएको बताउनुभयो। नेपालमा काम गरिरहेका व्यवसायदेखि नेपालमा जान इच्छुक दर्जनौं लगानीकर्ताहरूलाई बोलाएर नेपालमा लगानीको वातावरण सम्बन्धमा सन्देश दिएको राजदूत ओलीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘यतिखेर नेपालमा लगानीको राम्रो वातावरण छ, लगानी र फाइदाको प्रत्याभूति दिनुका साथै वैदेशिक लगानीका लागि प्रभावकारी नीति नियमहरू तर्जुमा गरिएको जानकारी दिएका छौं।’
चाइनिज ओभरसिज डेभलपमेन्ट एसोसियसन (कोडा) र अरनिको बेइजिङ इन्टरनेश्नल सप्लाई चेन म्यानेजमेन्ट कम्पनीको सहकार्यमा नेपाली दूतावासले यस्तो कार्यक्रम आयोजना गरेको हो। अरनिको इन्टरनेश्नल सप्लाई चेन म्यानेजमेन्ट नामक संस्था चिनियाँद्वारा खोलिएको लगानीकर्ता निकाय हो जसले नेपालमा व्यवसायिक गतिविधिहरू आयोजना गर्दै आएको छ ।
कार्यक्रममा आयोजक संस्थाका सम्बन्धित व्यवसायी उद्यमीहरूका साथै चीनमा व्यवसाय क्षेत्रमा जोडिएका नेपालीहरू र नेपाली तथा चिनियाँ पत्रकारहरूको उपस्थिति रहेको थियो। नेपालमा काम गरिरहेका केही व्यवसायीहरूले नेपालको लगानी स्थिति, प्रक्रिया तथा संभावनाबारे आफ्ना अनुभवहरू सुनाएका थिए।
नेपालले २०२६ मा अति कम विकसित देशबाट विकासोन्मुख मुलुक बन्ने र सन् २०३० सम्म मध्यम आय भएको देश बन्ने लक्ष्य राखेको छ। चीनस्थित नेपाली व्यवसायीहरूले पनि नजीकको गन्तव्य, चीन – नेपाल असल सम्बन्ध लगायतका कारण चिनियाँ लगानीकर्ताहरूका लागि नेपाल एउटा भर्जिनल्याण्ड भएको बताए ।
नेपाल सरकारले चीनसँगको सम्बन्धलाई महत्त्व दिँदै सबैभन्दा नजिकको र सबैभन्दा विश्वसनीय मित्र मान्दछ। नेपालका उच्च सम्भावना भएका उद्योगहरूमा चीन लगायत विदेशी लगानी आकर्षित गर्ने आशामा नेपाल सरकारले विभिन्न नीति, नियम र नियमहरू तर्जुमा गरेको छ। कार्यक्रममा नेपाली तथा चिनियाँ लगायत करीब १ सय भन्दा बढीले सहभागिता जनाएका थिए ।




