प्रधानमन्त्री ओलीको साथमा स्पेन गएका केही व्यक्ति नफर्किएका सांसद गौतमको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा स्पेन गएका केही व्यक्ति नफर्किएका दाबी गरेकी छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद गौतमले प्रधानमन्त्री गएको स्पेनको कार्यक्रममा समेत केही मानिस गएर नफर्किएको दाबी गरेकी हुन् ।
उनले भनिन्, ‘सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहाना गरेर नफर्किएको भन्नेलगायतका समाचारहरू पनि आइरहेका छन्। व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन तर यो विषय गम्भीर हो।’
सांसद सोबिता गौतमले ‘भिजिट भिसा’ प्रकरणमा कैयौँ दिनदेखि आवाज उठाउँदै आए पनि सरकार गम्भीर नभएको बताइन् । उनले उच्चस्तरीय छानबिन समितिको माग गर्दै विरोधस्वरुप आज पनि संसद् बहिष्कार गरेको बताइन् ।
‘रास्वपा केही समयदेखि भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी गर्ने कार्यविरुद्ध संसदीय छानबिन समिति वा उच्चस्तरीय जाँचबुझ आयोगको मागसहित सदनमा विरोधमा उभिएको छ,’ उनले भनिन् ।
सांसद गौतमले अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि जोडिएको गम्भीर विषयमा पनि उच्चस्तरीय छानबिन समिति नबनाएर स्वार्थ बाझिने अनुपयुक्त पात्रको नेतृत्वमा एउटा सामान्य प्रशासनिक समिति बनाएको विषयमा खेद र आपत्ति रहेको बताइन् ।





