क्यान्सरका दुर्लभ र महँगा औषधी अब नेपालमा निःशुल्क पाइने

अब नेपालमा क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि सरकारले निःशुल्क उपलब्ध गराउने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जुलाई १३ तारिख आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा यस्तो जानकारी दिनु भएको नेपाल खबर अनलाइनले लेखेको छ।
नेपालमा औषधि उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न मन्त्री पौडेलको पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधी सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो खेपको औषधि नेपाल आइपुगेको छ। यसअघि मन्त्री पौडेलले त्यस्ता औषधी प्राप्त गरेर सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने घोषणा गर्नु भएको थियो।
डाइरेक्ट रिलिफले वन हर्ट वल्र्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोगको औषधि हस्तान्तरणका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले औषधी अभावमा विदेश गएर महँगो खर्च गनुपर्ने बिरामीको समस्या कम गर्न लामो मेहनतपछि सफलता प्राप्त भएको बताउनुभयो।
डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महंगा ती औषधी नेपालको आवश्यकताअनुसार ५ वर्षसम्म सहयोग गर्ने प्रतिवद्धता जनाएको छ। ‘क्यान्सरको औषधि महंगो हुँदा विपन्न नागरिकलाई समस्या हुँदै आएको छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘राज्यको लगानीबिना नै धेरै नागरिकलाई राहत दिने प्रयास हामीले गरेका छौँ।’ ३७ प्रकारका औषधी क्रमैसँग आउने भए पनि अरु आवश्यक औषधीसमेत सहयोगमा प्राप्त गर्न प्रयास गरिने मन्त्री पौडेलले बताउनुभयो।
‘सूची थप गरेर धेरै नागरिकलाई अझ राहत दिन प्रयत्न गर्नेछौं,’ मन्त्री पौडेलले भन्नुभयो, ‘सरकारी क्यान्सर अस्पतालमा तत्काल औषधी पठाउने व्यवस्था मिलाइएका छौँ।’
मन्त्री पौडेलले सरकारले दिने स्वास्थ्य सुविधा तथा बीमाबारे पर्याप्त जानकारी नहुँदा नागरिकले सेवा लिन नसकिरहेको प्रसंग उल्लेख गर्दै सञ्चारमाध्यमलाई यस्ता जानकारी प्राथमिकताका साथ प्रसारण गरेर सहयोग गरिदिन आग्रह गर्नुभयो।
कार्यक्रममा मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाले ५ वर्षसम्म नेपालको आवश्यकताअनुसार औषधी प्राप्त गर्ने गरी समझदारी भएको जानकारी दिनुभयो। वन हर्ट वल्र्डवाइडका नेपाल प्रतिनिधि सूर्य भट्टले मन्त्री पौडेलको विशेष पहलबाट औषधी प्राप्त भएको भन्दै यो नेपालका लागि ठूलो उपलब्धि भएको बताउनुभयो।
स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू देशका चारवटा सरकारी अस्पतालबाट क्यान्सरका बिरामीहरूलाई निःशुल्क रुपमा उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो।
मन्त्रालयलाई हस्तान्तरण गरिएका औषधी र स्वास्थ्य सामाग्रीहरु आइतबार नै क्यान्सर उपचारमा संलग्न बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पताल, काठमाडौँलाई हस्तान्तरण गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button