अब संविधानको परिमार्जन गर्ने समय आयोः प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि देशमा उल्लेख्य प्रगति भए पनि संविधानले व्यवस्था गरेका मौलिक हकलाई कार्यान्वयन गर्नबाट राजनीतिक नेतृत्व चुकेको बताएका छन् ।
‘नेपाल खबर डट कम’को १०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित विशेष परिसंवादमा अध्यक्ष दाहालले अब संविधानको परिमार्जन गर्ने समय आएको बताए ।
‘आर्थिक सूचक राम्रा छन् भनिएका बेला दैनिक हजारौँको सङ्ख्यामा युवा पलायन हुनु र देशले कुनैबेला निर्यात गर्ने खाद्य वस्तु अहिले अर्बौं रुपैयाँमा आयात हुने अवस्था किन आयो भन्ने विषयमा गम्भीर हुनुपर्छ’, उनले भने ।
अध्यक्ष दाहालले सुशासन कायम गर्नु देशको सर्वाधिक ठूलो चुनौती भएको उल्लेख गर्दै भ्रष्टाचारका कारण पनि नकारात्मक भाष्य फैलाउनलाई सहयोग पुगेको बताए ।
दाहालले माओवादी केन्द्रलाई अहिले पनि निजी क्षेत्र विरोधी शक्तिका रूपमा लिने गरिएको जिकिर गर्दै आफूले भने शान्ति प्रक्रियामा आएदेखि नै निजी क्षेत्रको अपरिहार्यताबारे बोल्ने गरेको र पदमा रहेका बेला निजी क्षेत्रसँग सर्वाधिक समय छलफल गरेको बताए ।
‘उदारवादले मात्र न्याय गर्दैन भनेका हौँ’, उनले भने । कार्यक्रममा नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले सन् १९९० को तुलनामा मुलुकले मानव विकासका विभिन्न सूचकमा अभूतपूर्व फड्को मारेको उल्लेख गर्दै त्यसलाई जनतासम्म पुर्याउनु र तैपनि जनता निराश हुनुका कारणलाई सुक्ष्म ढङ्गले केलाएर सम्बोधन गर्नु सबै राजनीतिक शक्तिको कर्तव्य भएको बताए ।
Nepal Samaj





