पार्टी नेतृत्वलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार्य हुन्नः उपमहासचिव पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी नेतृत्वलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन् । भिडियो अन्तरवार्तामा उपमहासचिव पुनले पार्टीभित्र आन्तरिक जनवादको राम्रो अभ्यास भएको जिकिर गर्दै नेतृत्वलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार्य नहुने बताएका हुन् ।

उनले भने, ‘नेतृत्वले जस्तोसुकै राम्रो काम गर्दा, जनतामा जाँदा, जनताले स्वीकार गर्दा पनि व्यक्तिगत आरोप, लान्छाना जस्तो, नेतृत्वलाई कमजोर बनाउने जो प्रवृत्ति छ, त्यो चाहिँ स्वीकार्य हुँदैन।’

उनले जनतामा माओवादीप्रति उत्साह पैदा भइरहेको बेला अनावश्यक गुटबन्दी गर्न लागिएको बताए । खासगरी पछिल्लो समय पार्टीका अर्का उपमहासचिव जनार्दन शर्मा र अध्यक्ष प्रचण्डबीच टकराव बढेको छ ।

उपमहासचिव शर्माले पार्टीभित्रको अन्तर्विरोधबारे आफ्नो अनुकूल व्याख्या नगर्न आग्रह गरेका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको असमझदारीबारे सार्वजनिकरुपमा अनेक टिप्प्णी हुन थालेपछि उपमहासचिव शर्माले सामाजिक संजालमार्फत यस्तो बताएका हुन् ।

उनले आफ्नो अनुकूल व्याख्या गर्नु भन्दा समग्र पक्ष अध्ययन गर्न सबैमा आग्रह गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो पार्टीबारे सामाजिक सञ्जाल र सञ्चार माध्यममा भइरहेको टीका टिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आफ्नो अनुकूल व्याख्या गर्नु भन्दा समग्र पक्ष अध्ययन गर्न सबैमा आग्रह गर्दछु।’

उपमहासचिव शर्माले केही दिनअघि एक कार्यक्रममा मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीहरू भ्रष्ट रहेको आरोप लगाएका थिए ।

गत बुधबार उपमहासचिव शर्माप्रति लक्षित गर्दै प्रचण्डले केही साथीहरूले सिँगौरी खेल्न खोजको बताएका थिए । प्रचण्डले भने, ‘मैले सधैँ छलफलको वातावरण बनाउँदै आएको छु । अहिले पनि केही साथीहरू सिँगौरी खेल्न पाए हुन्थ्योजस्तो गरिरहनुभएको छ । उहाँहरूलाई प्रशस्त मौका दिएको छु । अस्ति मात्रै डेढ महिना देशैभरि लिएर हिँडेँ । मैले कसैलाई कारबाही गरिनँ । कमरेड मोहन वैद्य किरण, बाबुराम भट्टराई, रामबहादुर थापा ‘बादल’लगायत थुप्रै नेताहरूले भिन्न मत राखे, तर म पार्टीबाट निकाल्ने ठाउँमा पुगिनँ ।’

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button