थाईल्यान्ड र क्याम्बोडियाबीच ‘निसर्त सङ्घर्षविराम’ गर्ने सहमति, तत्काल लागु हुने

क्याम्बोडिया र थाईल्यान्ड “तत्काल लागु हुने गरी बिनासर्त सङ्घर्षविराम” गर्न सहमत भएका छन्।
दुई देशका प्रधानमन्त्रीबीच मलेशियाको मध्यस्थतामा शान्तिवार्ता भएपछि उक्त घोषणा गरिएको हो।
मलेशियाका प्रधानमन्त्रीले “तनाव मत्थर पार्न तथा शान्ति र सुरक्षा पुनर्बहाली गर्न” यो पहिलो महत्त्वपूर्ण कदम भएको टिप्पणी गरेका छन्।
गत साता दुई देशका सेनाबीच विभिन्न सीमावर्ती क्षेत्रमा सङ्घर्ष हुँदा कम्तीमा ३३ जनाको मृत्यु भएको थियो। झन्डै एक शताब्दीदेखि दुई देशबीच सीमा विवाद चल्दै आएको छ।
गत सता दुवै देशले पहिलो आक्रमण अर्को पक्षबाट भएको आरोप लगाएका थिए।
थाईल्यान्डले क्याम्बोडियाको सेनाले सीमानजिकै परिचालित थाई सैनिकहरूको चियो गर्न ड्रोन उडाएपछि भिडन्त सुरु भएको दाबी गरेको थियो। क्याम्बोडियाका अनुसार पुरानो सहमति उल्लङ्घन गर्दै थाई सैनिकहरूले सीमानजिकै एउटा खमेर-हिन्दू मन्दिरमा प्रवेश गरेर सो क्षेत्रमा काँडेतार बारेपछि द्वन्द्व बढेको थियो।
गत साता थाईल्यान्डले तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरेको थियो। उसले द्विपक्षीय वार्ताबाटै द्वन्द्वको सम्बोधन हुने भन्दै आएको थियो।
मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले गत बिहीवार नै मध्यस्थता गर्न आफू तयार भएको बताएका थिए। तर ट्रम्पको धम्कीपछि मात्रै उनको प्रस्तावप्रति थाईल्यान्ड सकारात्मक भएको बताइन्छ।
BBC





