व्यक्तिगत कुरालाई लिएर पार्टी सङ्गठनभित्र असमझदारी बढाउनु हुँदैनः परराष्ट्रमन्त्री राणा

गण्डकी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले व्यक्तिगत कुरालाई लिएर पार्टी सङ्गठनभित्र असमझदारी बढाउन नहुने बताएकी छन् ।

नेपाली कांग्रेस कास्कीद्वारा बिहीबार पोखरामा आयोजित कार्यकर्ता भेटघाटमा राणाले पार्टी सङ्गठनभित्र एकआपसमा स्वच्छ प्रतिष्पर्धा हुनेभएपनि यही प्रतिष्पर्धाका कारण पार्टीलाई विभाजित गराउन नहुने बताएकी हुन् ।

उनले भनिन्, ‘पार्टी व्यक्तिगत महत्वकांक्षा पूरा गर्ने ठाउँ होइन, यो राष्ट्र र समाजका लागि योगदान गर्ने थलो हो ।’ कांग्रेसका सस्थापक नेता विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत नेताहरूको अतुलनीय योगदानका कारण पार्टी यस स्थानमा आइपुगेको जनाउँदै केन्द्रीय सदस्य देउवाले उहाँहरूका मार्ग निर्देशलाई आत्मसात गर्दै अघि बढ्न् जरुरी रहेको बताइन् ।

‘उहाँहरूले धेरै ठूलो योगदान गर्नुभएको छ उहाहरूले देखाउनुभएको मार्गदर्शनमा कांग्रेस पार्टी हिड्नु एकदमै जरुरी छ’, उनले भनिन्, ‘हामी हरेकको बोली, आचरण, व्यवहारमा पार्टीलाई कसरी बलियो बनाउने भन्ने भयो भने पार्टी बलियो बन्छ ।’

आसन्न पार्टीको १५औँ महाधिवेशनमा आन्तरिक प्रतिष्पर्धा हुने भए पनि कसैलाई काखा र कसैलाई पाखा नलगाई एकढिक्का भएर पार्टी झन बलियो र सुदृढ हुने विश्वास व्यक्त गरिन् ।

नयाँ दलले समाजिक सञ्जालको अधिकतम प्रयोग गरिरहेको प्रसंग उल्लेख गर्दै डा देउवाले कांग्रेसले सकारात्मक ऊर्जा प्रवाह गर्ने गरी सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्नु जरुरी भएको बताइन् ।

पछिल्ला समयमा ‘देशमा केही भएको छैन‘ भन्ने नकारात्मक भाष्यलाई बढी प्रचार गर्न खोजिएको जनाउँदै उनले युवा पलायनलाई रोक्दै सकारात्मक सन्देश प्रवाहका साथ देशमा नै रहने र केही गर्ने किसिमले अघि बढ्नु हामी सबैको दायित्व भएको बताइन् ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button