काठमाडौँ–तराई/मधेश द्रुतमार्ग : असी अर्ब खर्च, बयालिस प्रतिशत काम

राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्गको प्रगति सुस्त देखिएको छ । विसं २०८३ भित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको द्रुतमार्ग आयोजनाका लागि हालसम्म ८० अर्ब ५४ करोड रुपियाँ खर्च भइसकेको नेपाली सेनाले जानकारी दिएको छ ।
सुरुवातमा एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिए पनि द्रुतमार्गको अहिले लागत बढेर दुई खर्ब ११ अर्ब ९३ करोड रुपियाँ पुगेको छ । नेपाली सेनाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयोजनाको विसं २०८२ असार मसान्तसम्म भौतिक प्रगति ४२.१३ प्रतिशत छ । काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको मोबिलाइजेसनसहित वित्तीय प्रगति भने ४४ प्रतिशत भएको नेपाली सेनाका सूचना अधिकारी तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो ।

जम्मा १३ वटा निर्माण प्याकेजमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८ क, ८ ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनको चरणमा रहेको छ । प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–डुकुछाप खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका साथै द्रुतमार्गको सुरु विन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय हुन बाँकी रहेकाले खरिद प्रक्रिया सुरु हुनै बाँकी रहेको नेपाली सेनाले जनाएको छ ।

उक्त खण्डमा पर्ने जग्गाको मुआब्जा वितरणका लागि सम्बन्धित जग्गाधनीसँग समन्वय भइरहेको छ । साथै जग्गा अधिग्रहणसम्बन्धी समस्या समाधानका लागि सम्भावित विकल्पको डिजाइन कार्यसमेत अगाडि बढिरहेको नेपाली सेनाका सूचना अधिकारी बस्नेतले जानकारी दिनुभयो । हालसम्म स्वीकृत डिपीआर अनुसार खोकना–डुकुछाप क्षेत्रमा मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी जग्गा १६०–०–२–१.६७ तथा मूल्य निर्धारण हुन बाँकी जग्गा १६५–६–०–३ रोपनी रहेको छ । द्रुतमार्गको सुरु विन्दु यकिन तथा अन्य डिजाइन परिमार्जनबमोजिम अधिग्रहण गर्न बाँकी जग्गाको परिमाणमा परिमार्जन हुन सक्ने देखिएको नेपाली सेनाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख रहेको गोरखापत्र अनलाइनले जनाएको छ ।

आयोजना अन्तर्गतका सात वटा सुरुङमार्गको कुल लम्बाइ १०.९७९ किलोमिटर रहेको छ । सुरुङ मार्गको प्याकेज नं. १ अन्तर्गत महादेवटार सुरुङको जम्मा लम्बाई तीन किलोमिटर ३५५ मिटरमध्ये हालसम्म तीन किमी ३२२ मिटर दायाँ टनेलको दुई किमी २९ मिटर अर्थात् ६१ प्रतिशत खन्ने कार्य सम्पन्न भएको छ भने तीन किमी ३८६ मिटरको बायाँ टनेलको दुई किमी २८६ मिटर अर्थात् ६८ प्रतिशत खन्ने कार्य सम्पन्न भइसकेको जनाएको छ ।

त्यस्तै प्याकेज नं. २ अन्तर्गत एक किमी ६९० मिटर लम्बाइ रहेको धेद्रे सुरुङमार्ग र प्याकेज नं. ३ अन्तर्गत एक किमी ६२२ मिटर लम्बाइ रहेको लेनडाँडा सुरुङको भने छेदन भइसकेको छ । दुई किमी २५० मिटर लम्बाइ रहेको चन्द्रामभिर सुरुङको ९९ मिटर निर्माण प्रगति भएको छ । ५८३ मिटर लम्बाइ रहेको मौरीभिर सुरुङ, एक किमी मिटर लम्बाइ रहेको देवीचौर सुरुङ र ३९० मिटर लम्बाइ रहेको सिसौटार सुरुङको पोटल निर्माणको कार्य भइरहेको सूचना अधिकारी बस्नेतले जानकारी दिनुभयो ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button