दौत्यसम्बन्धको सत्तरीऔँ वार्षिकोत्सव मनाउन क्वाङचौँमा नेपाल-चीन मैत्रीपूर्ण फुटबल (फाेटाेफिचरसहित)

काठमाडौँ । नेपाल र चीनबीच दौत्यसम्बन्ध स्थापना भएकाे ७० औँ वार्षिकोत्सवको उपलक्ष्यमा चीनको व्यापारिक सहर क्वाङचौँ (ग्वान्झाउ)मा मैत्रीपूर्ण फुटबल प्रतियाेगिता आयाेजना गरिएकाे छ ।
क्वाङ्चौस्थित नेपाली महाबाणिज्यदूताबासद्वारा स्थानीय याङ्ग चीकाङ्ग रंगशालामा शुक्रबार आयाेजना प्रतियोगितामा दुबै देशका खेलाडीहरुको सहभागिता रहेको थियो ।
आपसी एकता र सम्मानको प्रतीकस्वरुप नेपाल र चीनका राष्ट्रिय झण्डाहरु फहर्याएर दुबै देशको राष्ट्रिय गीत गाइएसँगै कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा ७० औँ वार्षिकोत्सवको प्रतिकात्मक केकसमेत काटिएको थियो ।
कार्यक्रममा नेपाली महावाणिज्यदूत भरत खनाल र क्वाङ्चाैँ नगरपालिका खेलकुद विभागका उपमहानिर्देशक लिन याफनले दुबै देशबीचको सम्बन्ध प्रवर्द्धमा खेलकुदले पुर्याउने योगदानको चर्चा गरेको थिए ।
क्वान्तोङ प्रान्त विदेश विभागअन्तर्गत् एशिया महाशाखाका निर्देशन छन् छियनसमेतको विशेष उपस्थितिमा भएको ६० मिनेट अवधिको प्रतियाेगिताका विजेता समूहहरु, उत्कृष्ट खेलाडी र धेरै गोल हान्ने खेलाडीलाई पुरस्कृत गरिएको थियो ।
दुबै देशबीच दौत्यसम्बन्ध स्थापना भएकाे सात दशक पूरा भएकाे उपलक्ष्यमा दुबै देशका खेलाडी, अतिथि र समुदायलाई एकै ठाउँमा जम्मा गराई उत्सवको रुपमा मनाइएको नेपाली महाबाणिज्यदूताबासले जनाएको छ ।

Nepal Samaj





