बढ्यो सार्वजनिक विद्युतीय सवारीप्रति आकर्षण

नेपालमा सार्वजनिक विद्युतीय सवारी (इभी) प्रति व्यवसायी र यात्रुको आकर्षण बढ्दो छ। सवारी सङ्ख्या मात्र बढेको छैन, यात्रुको रोजाइ पनि विद्युतीय सवारी हुन थालेको गोरखापत्र अनलाइनले लेखेको छ।

वातावरणमैत्री र ध्वनि प्रदूषणमुक्त मात्र होइन, एक पटक लगानी गरेपछि सञ्चालनमा खासै खर्चिनु नपर्ने भएकाले व्यवसायीहरू यसतर्फ आकर्षित छन्। सामान्यतया इन्धनको बसले दैनिक पाँच हजार पाँच सय रुपियाँको तेल खर्च गर्दा विद्युतीय बस एक हजार पाँच सयबराबरको चार्जबाट चल्छ।

पछिल्लो समय विद्युतीय बस आयातको तथ्याङ्क हेर्दा पनि लगानीकर्ता र यात्रुको आकर्षण बढेको देखिन्छ। आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्क अनुसार एक वर्षमा ३१ अर्ब ७६ करोड रुपियाँबराबरको १३ हजार ५७८ विद्युतीय सवारी आयात भएका छन्। २०८०/८१ मा ११ हजार ७०१ वटा आयात भएका थिए। विद्युतीय सवारीसाधन आयातमा निरन्तर वृद्धि भइरहनुले पनि आकर्षण बढेको देखिन्छ।
भन्सार विभागको २०८१/८२ को तथ्याङ्क अनुसार एक वर्षमा नौ अर्ब ४८ करोड रुपियाँभन्दा बढी मूल्यका यात्रुवाहक विद्युतीय सवारी आयात भएको छ। कुल तीन हजार १३२ वटा सार्वजनिक विद्युतीय बस, मिनीबस र माइक्रोबस आयात गर्दा करिब दुई अर्ब १० करोड रुपियाँ राजस्व सङ्कलन भएको देखिन्छ।

सरकारले सार्वजनिक विद्युतीय सवारीलाई प्रोत्साहनको नीति लिएपछि ठुला विद्युतीय सवारी आयात ह्वात्तै बढेको देखिएको छ। आयात भएका तीन हजार १३२ सार्वजनिक विद्युतीय सवारी चीनबाट ल्याइएको छ। ५० किलोवाटसम्मका चार हजार ७३२ विद्युतीय सवारी र ५१ देखि १०० किलोवाट क्षमताका सात हजार ४३१ सवारी आयात भएको छ।

भर्खर विद्युतीय सवारी सञ्चालन गरेको महानगर यातायातका सचिव केशव नेपालले भन्नुभयो, “अहिले काठमाडौँ उपत्यका धुलो धुवाँले तहसनहस छ। धुवाँ फाल्ने पुराना गाडीभन्दा नयाँ विद्युतीय बसमा यात्रा गर्न पाउँदा यात्रुको रोजाइ नहुने त कुनै भएन।” एसी सुविधासहित अनलाइन भुक्तानीका साथै सिसी क्यामरासमेत हुने भएकाले यात्रुले सुरक्षित महसुस गर्ने गरेको खनालले बताउनुभयो। साझा यातायातले सञ्चालन गरेका विद्युतीय बस अपाङ्गतामैत्री भएकाले पनि आकर्षण बढेको व्यवसायी बताउँछन्।

विद्युतीय बसको यात्रा आरामदायी र इन्धनबाट चल्ने बसले जस्तो स्वास्थ्यमा असर नपुर्याउने हुँदा वातावरणदेखि सबैका लागि उपयुक्त भएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताउनुभयो। आव २०८१/८२ मा चीनबाहेक भारतबाट तीन हजार २४६ विद्युतीय सवारी आयात गरिएको छ। त्यस्तै मलेसियाबाट ५०, जर्मनीबाट ४५, संयुक्त राज्य अमेरिकाबाट ११, दक्षिण कोरियाबाट छ र इन्डोनेसियाबाट चार वटा विद्युतीय सवारी आयात भएको तथ्याङ्क छ।

सडकलगायतका भौतिक संरचना भने विद्युतीय सवारीमैत्री हुन नसकेको व्यवसायीको गुनासो छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भन्नुभयो, “नेपालमा सबै हिसाबले विद्युतीय सवारी उपयुक्त छ। लगानी र आकर्षण पनि बढेको छ तर सडक संरचना भने पुरानै छन्। भौतिक पूर्वाधारमा पनि सरकारले ध्यान दिनु पर्छ।”

आगामी आर्थिक वर्षसम्म सार्वजनिक विद्युतीय सवारी सङ्ख्या दोब्बरले बढ्ने देखिन्छ। सरकारले साझा यातायातमार्फत आगामी दसैँसम्ममा एक सय वटा ठुला विद्युतीय बस ल्याउँदै छ। महानगर र सुन्दर यातायातले पनि थप २०/२० वटा ठुला विद्युतीय बस ल्याउने बताएका छन्।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button