खनाल-नेपाल तिक्तता बढ्दैः केपी ओलीको सेवा गरेर बस्न खनाललाई सुझाव

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालबीच तिक्तता बढ्दै गएको छ ।
सार्वजनिक कार्यक्रममा नै एकले अर्काको आलोचना गर्ने क्रम बढेको छ । एक टेलिभिजन अन्तरवार्तामा खनालले एमालेसँग विद्रोह सुरु गर्नु गलत भएको बताएपछि दुई नेताबीच एकअर्कालाई आलोचना गर्ने क्रम बढेको हो । खनालले यस्तो बताएपछि अध्यक्ष नेपालले पार्टी छाडेर जान आग्रह गरेका थिए ।
शुक्रबार पनि अध्यक्ष नेपालले खनालमाथि आक्रोश पोखेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सुझाव दिएका छन् ।
अध्यक्ष नेपालले विद्रोह गरेर नयाँ पार्टी बनाउने अनि अहिले विद्रोह गरेको औचित्य छैन भन्ने कुरा गर्न पार्टीको अनुशासन विपरीत रहेको बताए । नेपालको भनाई थियो, ‘मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्यो त ? विद्रोह ठिक लागेन भने केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि ।’
उनले संविधान मिच्ने काम केपी ओलीबाट भएकाले विद्रोह गरेर नयाँ दल खोल्नु परेको बताए । अध्यक्ष नेपालले आफूहरुले संविधान जोगाउने मात्रै नभई कम्युनिष्ट आन्दोलन जोगाएको दाबी गरे । उनले सात प्रदेशमध्ये तीन प्रदेशमा मुख्यमन्त्री बनाउन सफल रहेको भन्दै आफ्नो पार्टी सानो नभएको बताए ।
उनले भने, ‘पार्टी सानो छ भन्ने के शब्दको प्रयोग गरेको होला भन्ने लाग्छ । यदि हामी सानो हौं भने एउटा मात्र सांसद, प्रदेश सदस्य, एक मात्र पालिकाको मेयर, वडा अध्यक्ष मात्रै जितेको पार्टी कस्तो हो त ? बाग्मतीमा मुख्यमन्त्री बनायौं, कोशीमा राजेन्द्र राईलाई मुख्यमन्त्री बनायौं । सुदूरपश्चिममा मूख्यमन्त्री बनायौं ।’ उनले पार्टी सिद्धियो भन्ने हल्लाको पछि नलाग्न समेत आफ्ना कार्यकर्तालाई आग्रह गरे ।
Nepal Samaj





