कारागार कार्यालयले भन्यो-रविलाई अन्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद गरिएको छैन

काठमाडौं । कारागार कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राखिएको स्थानकाबारेमा संचारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण जनाएको छ ।

कारागार प्रशासक सुरेश भण्डारीले विज्ञप्ति जारी गरी चार महिनादेखि कारागारमा रहेका लामिछानेलाई सुरक्षा कारणले छुट्टै बसोबासको व्यवस्था गरिएको उल्लेख गरेका छन् ।

कारागार प्रशासनले लामिछानेसँग नियमित भेटघाट गर्दै समस्या तथा आवश्यकताबारे जानकारी लिने र आवश्यक समाधान गर्ने कार्य भइरहेको उल्लेख गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस कारागार कार्यालयको विषयमा विभिन्न पत्र पत्रिकामा प्रकाशित समाचार प्रति यस कार्यालयको गम्भीर ध्यानकर्षण भएको छ । समाचारमा प्रकाशित तस्बिर यस कारागार भित्र रहेको भवनको नभएको र समाचारमा उल्लेख भएजस्तो अवस्था नरहेको व्यहोरा अनुरोध छ ।’

कार्यालयले अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उहाँलाई पनि यस कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको उल्लेख गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सहकारी ठगी सम्बन्धी मुद्दामा थुनुवाको रूपमा विगत चार महिनादेखि पूर्व उपप्रधानमन्त्री तथा हाल निलम्वनमा रहनु भएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने यस कारागारमा रहनु भएको छ। उहाँको सुरक्षालाई ध्यानमा राखि कारागार प्रशासनले एउटा छुटै कोठामा बसोबासको व्यवस्था मिलाइएको छ। कारागार प्रशासनले समय समयमा उहाँलाई भेट गरी समस्या तथा आवश्यकताका सम्बन्धमा सोधपुछ गर्ने गरेको र देखिएका समस्या समाधानसमेत गर्ने गरेको छ। अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उहाँलाई पनि यस कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको छ । उहाँले चाहेको खण्डमा मात्र बाहिरवाट आउने व्यक्तिले भेट्न पाउने तथा सञ्चार सुविधा उपयोग गर्ने वातावरण मिलाइएको छ । सुरक्षाका दृष्टिले संवेदनशिल क्षेत्र भएकोले कारागारसँग सम्बन्धित समाचार प्रकाशन, प्रसारण गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुने गरी चित्र तथा सामग्री नराखिदिनुहुन र कार्यालयसँग बाधिकारीक सूचना लिइ सत्य तथ्य समाचारहरू मात्र प्रकाशन, प्रसारण गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button