अवैध रूपमा भित्रिने माछाका कारण किसान समस्यामा

कैलाली । कैलालीको खुला सिमानाकाबाट अवैध रूपमा भित्रिने भारतीय माछाका कारण स्थानीयस्तरमा माछापालन गर्दै आएका किसान समस्यामा परेका छन्। यहाँ उत्पादित माछाले उचित मूल्य पाउन नसकेपछि किसान समस्यामा परेका हुन्।

यहाँ उत्पादित माछा बिक्रीका लागि बजारको समस्या नभए पनि जिल्लाका विभिन्न सिमानाकाबाट अवैध रूपमा भारतीय माछा भित्रिने गरेकाले उचित मूल्य प्राप्त हुन नसकेको कैलारी गाउँपालिका–५ गोबरेलाका कृषक सनोज चौधरीले बताए।

उनले भने, ‘बाहिरबाट भित्रिने माछाका कारण हामीले चाहेको मूल्यदरमा बिक्री गर्न सकिरहेको छैनौँ, यसले व्यापार व्यवसाय सञ्चालनसँगै आर्थिक व्यवस्थापनमा समस्या भएको छ।’

यहाँ उत्पादित माछा थोकमा प्रतिकिलो २५० र फुटकरमा प्रतिकिलो रु ३०० मा बिक्री हुने गरेको जनाउँदै चौधरीले सिमानाकाबाट भित्रिएका माछा थोकमा प्रतिकिलो २२० र फुटकरमा प्रतिकिलो २८० मा बिक्री हुने गरेको बताए।

‘हामीले उत्पादन गरेका माछाको दररेटभन्दा भारतबाट ल्याइएका माछा सस्तो पर्न जान्छ। सोही कारणले व्यावसायिक माछापालन गर्ने किसानद्वारा उत्पादित माछाले उचित मूल्य नपाउँदा समस्या भएको हो’, उनले भने।

माछापालनका लागि तीन वटा पोखरी निर्माण गरेको बताउँदै चौधरीले कमन कार्प, ग्रास, रहु र पङ्गासेस जातका माछापालन गर्दै आएको जानकारी दिए।

माछा बिक्रीका लागि समस्या नभए पनि अवैध रूपमा भित्रिने माछाका कारण बिक्री दरमा वृद्धि हुन नसकेको धनगढी उपमहानगरपालिका–२ का माछापालक नरेश शाहले गुनासो गरे।

‘लामो समयदेखि हामीले व्यवसाय गर्दै आएका छौँ, तर लगानी र मिहेनतअनुसारको उचित मूल्य नपाउँदा कृषक समस्यामा परेका छौँ’, उनले भने। सिमानाकाबाट अवैध रूपमा भित्रिने माछा रोक्नका लागि नाका क्षेत्रमा कडाइ गरिनुपर्नेमा उनले जोड दिए।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button