दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा

काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा धूमधामका साथ मनाइने पर्वमध्ये एक हो गाईजात्रा (सापारु)। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाको दिन मनाइने यो जात्रा भक्तपुरमा भने अष्टमीसम्म नै मनाउने परम्परा रहँदै आएको छ। गाईजात्रा नेवार संस्कृतिबाट सुरु भएको हो।
नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ। यस पर्वमा नेवार समुदायमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी, विभिन्न बाजागाजा र झाँकीसहित स्थानीय मठमन्दिर र देवालय परिक्रमा गराउने र दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको गोरखापत्र अनलाइनले लेखेको छ। यसरी दिवङ्गत व्यक्तिको सम्झना गर्दै गाईजात्रा निकाल्दा उनीहरूको आत्मले सहजै वैतरणी पार गर्न सक्छन् भन्ने धार्मिक विश्वास पनि समाजमा रहेको छ।





