फेसबुकमा फैलिएको “अनुमति नदिने स्टाटस” सम्बन्धी पोस्ट भ्रामक

काठमाडौं, १३ साउन २०८२।
सामाजिक सञ्जाल फेसबुकमा पछिल्लो समय प्रयोगकर्ताहरूले “फेसबुक वा मेटालाई निजी जानकारी र तस्बिर प्रयोग गर्न अनुमति दिन्नँ” भन्ने आशयको स्टाटस व्यापक रूपमा शेयर गरिरहेका छन्। यस्ता पोस्टहरूमा उल्लेख गरिएअनुसार, फेसबुकले भोलिदेखि नयाँ नियम लागू गर्दैछ र यदि प्रयोगकर्ताले त्यस्तो स्टाटस पोष्ट नगरेमा उनीहरूको सामग्री स्वतः सार्वजनिक रूपमा प्रयोग हुने दाबी गरिएको छ। यद्यपि, यस्ता दाबीहरू पूर्णतः भ्रामक र तथ्यहीन रहेका छन्।
साइबर सुरक्षासम्बन्धी विज्ञहरूका अनुसार यस्ता किसिमका सन्देशहरू विगतमा पनि विभिन्न भाषामा सामाजिक सञ्जालहरूमा देखा परिसकेका छन् र ती सबैको उद्देश्य प्रयोगकर्ताहरूमा अनावश्यक डर सिर्जना गर्नु हो। यस्ता स्टाटस लेखेर वा पोस्ट गरेर कुनैपनि प्रयोगकर्ताले आफ्नो डाटा सुरक्षामा प्रभाव पार्न सक्दैनन्।
फेसबुकको आधिकारिक नीतिअनुसार, प्रयोगकर्ताले सेवा प्रयोग गर्न सुरु गर्दा स्वीकार गरिने Terms of Service (सेवाका सर्तहरू) नै कानुनी रूपमा बाध्यकारी हुन्छन्। फेसबुकमा पोस्ट गरिएको कुनै स्टाटसले त्यसमा परिवर्तन ल्याउन सक्दैन।
“त्यस्ता पोस्टहरू शेयर गर्नुको कुनै कानुनी वा प्राविधिक महत्व छैन,” एक आईटी विशेषज्ञले बताए। “बरु, यसले अरू प्रयोगकर्तामा भ्रम फैलाउँछ र सामाजिक सञ्जालमा झूटा सूचनाको श्रृंखला बढाउँछ।”
फेसबुक प्रयोगकर्ताहरूलाई यस्ता अफवाहमा विश्वास नगर्न र आफ्नो गोपनीयता सुरक्षित राख्नका लागि प्राइभेसी सेटिङहरू जाँच गर्ने, थर्ड पार्टी एपहरू हटाउने र फेसबुकको आधिकारिक ‘Data Policy’ अध्ययन गर्ने सुझाव दिइएको छ।





