लिङ्देन समूहको आक्रमणबाट राप्रपा काठमाडौंका क्षेत्रीय अध्यक्ष राणा घाइते

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनले परिचालन गरेका गुण्डाहरूले राप्रपा क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष एवं निवर्तमान राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौंका अध्यक्ष रिद्दि प्रताप राणा माथि हेलमेट प्रहार गरेका छन् । हेलमेट प्रहारबाट उनी सख्त घाइते भएका छन् ।
अधिवेशनको हलमा उपस्थित रहेका एक हुल अराजनीतिक जथ्थाले उनलाई हेलमेट प्रहार गरेर घाइते बनाएको हो । स्मरण रहोस् यसअघि पनि अध्यक्ष लिङ्देनका स्वकीय सचिव छत्र खडायतले पार्टीका युवा नेता राजु गैरे माथि हेलमेट प्रहार गरेका थिए । जिल्ला अधिवेशनमा लिङ्देनले गुण्डा परिचालन गरेको कुराको कार्यक्रमस्थलमा व्यापक विरोध भएको थियो ।
त्यसैक्रममा वैधानिक अधिवेशन प्रतिनिधि र मतदाताको नामावली प्रकाशन गर्न माग गर्दै लिङदेन विरुद्ध युवाहरूले हुटिङ गरेका थिए । स्मरण रहोस् २०५१ सालमा तत्कालीन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको झापाको कलवलगुडिमा विद्यार्थी संगठनको अधिवेशन हुँदा पनि आफ्ना प्रतिद्वन्द्वी गोपाल दाहालको समूह माथि लाठी, भाला खुकुरीसहित आक्रमण गरेर अध्यक्ष लिङ्देनले संगठन कव्जा गरेका थिए । उनले त्यससमय गरेका चर्चा गर्न लायक नभएको राप्रपाका नेताहरु वताउँछन् ।
अहिले लिङ्देन समूहबाट घाइते भएका रिद्दि राणा उपचारको क्रममा ह्याम्स अस्पतालमा रहेका छनन् उनको उपचार प्रक्रिया सुरु भएको छ । उपचारको क्रममा रहेका राणाले आफूविरुद्ध योजनाबद्ध ढंगले आक्रमण गरिएको बताएका छन् ।
उनले भनेका छन्, ‘म युवा संगठनको अधिवेशनमा सहभागी हुन पुगेको थिएँ। म विधि, विधान अनुसार संगठन चल्नुपर्छ भन्ने मान्यता राख्ने युवा हुँ । म विगत लामो समयदेखि पार्टीमा क्रियाशील छु । आज जिल्ला अधिवेशन सुरु हुन लाग्दा हुल हुज्जत गर्दै आएका अराजनीतिक समूहले म माथि हेलमेट प्रहार गरेर मलाई घाइते बनाएको छ । म अहिले उपचारको क्रममा छु । उपचार पछि पार्टी भित्र र कानुनी रुपमा न्याय खोज्ने र आफ्ना भनाइहरु राख्नेछु।’
Nepal Samaj





