चीन-अमेरिका व्यापार संवाद: चीन र नेपालको दृष्टिकोण

# लक्की चन्द

१२ अगस्ट २०२५ मा चीन र अमेरिका दुबैले आपसी रूपमा लगाइएको २४ प्रतिशत अतिरिक्त ट्यारिफलाई थप ९० दिनका लागि निलम्बन गर्ने घोषणा गरे। विश्वका दुई ठूला अर्थतन्त्रबीच लचकता देखिएको यो कदमले अन्तर्राष्ट्रिय बजारमा सकारात्मक तरंग ल्यायो, एशिया-प्रशान्त क्षेत्रका सेयर बजारमा सुधार आयो र कच्चा तेलको मूल्यमा पनि वृद्धि देखियो। यो घोषणाले जेनेभा, लण्डन, र स्टकहोममा भएका अघिल्ला वार्ताहरूको निरन्तरता सुनिश्चित गर्दै द्विपक्षीय व्यापारिक सम्बन्ध स्थिरतर्फ उन्मुख भइरहेको स्पष्ट पारेको छ।

चीनले सधैं आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक लाभका सिद्धान्तहरूमा आधारित रहेर अमेरिका सँगको सम्बन्धलाई अघि बढाउने नीति अँगालेको छ। जुन ५ मा दुई राष्ट्रपतिबीच भएको टेलिफोन वार्ताले व्यापारिक तनाव न्यून गर्ने दिशामा नयाँ सहमति बनाएको थियो। त्यसयता भएका संवादहरूले दुबै पक्षमा विश्वास निर्माण गर्न मद्दत गरेको छ। चीन स्पष्ट रूपमा मान्दछ कि अमेरिका र चीन न त पूर्ण रूपमा व्यापारिक रूपमा छुट्टिन सक्छन्, न त ट्यारिफ वा प्रतिबन्धमार्फत समाधान खोज्न सकिन्छ।

हालको ९० दिने ‘विन्डो पिरियड’ व्यापार युद्धको जोखिमलाई अस्थायी रूपमा टार्न सफल भएको भए पनि यो दीर्घकालीन समाधानको सुरुआतको अवसर पनि हो। ट्यारिफहरू यथास्थानमा रहँदासम्म व्यापारिक बाधाहरू कायमै रहन्छन्, र अमेरिकी व्यवसाय र उपभोक्तालाई समेत हानी पु¥याउने चीनको धारणा छ। त्यसैले, चीनको दृष्टिकोणमा अस्वाभाविक ट्यारिफ पूर्णरूपमा हटाउनु, समानतामा आधारित संवाद गर्नु र द्विपक्षीय व्यापारिक सम्बन्धलाई दीगो रूपमा अगाडि बढाउनु अनिवार्य छ।

नेपालजस्तो विकासोन्मुख मुलुकका लागि यो घटनाक्रम सकारात्मक सन्देश बोकेको छ। विश्वका दुई प्रमुख शक्तिहरूबीच व्यापारिक तनाव कम हुनु भनेको नेपालजस्ता मुलुकका लागि पनि व्यापारिक पूर्वानुमान र योजना बनाउने वातावरण तयार हुनु हो। अनिश्चित बजार अवस्थाबाट स्थायित्वतर्फको रूपान्तरणले आपूर्ति शृंखलामा देखिने अस्थिरता कम गर्न सहयोग पुर्‍याउँछ। नेपालले सधैं खुला बजार, बहुपक्षीय सहयोग र नियममा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीको पक्षपोषण गर्दै आएको छ। यस सन्दर्भमा चीन-अमेरिका व्यापार संवाद र सहकार्यमा देखिएको प्रगति स्वागतयोग्य छ।

आजको विश्व परिप्रेक्ष्यमा व्यापारिक टकरावले कसैलाई लाभ दिंदैन। बरु सहकार्य, समन्वय र साझा हितका आधारमा समाधान खोज्न सकिएमा त्यसको लाभ व्यापक हुन्छ। नेपालजस्ता मुलुकहरूले यस्ता पहलबाट सिर्जित स्थायित्वलाई उपयोग गर्दै वैकल्पिक साझेदारी र समावेशी व्यापारिक अवसरको खोजी गर्न सक्नेछन्। चीन र अमेरिका सँगै मिलेर यदि आपूर्ति शृंखला स्थायित्व, आर्थिक पुनरुत्थान र व्यापार सहजताको दिशामा अगाडि बढे भने त्यो सम्पूर्ण विश्वको हितमा हुनेछ। अहिलेको ‘विन्डो पिरियड’लाई अवसरका रूपमा प्रयोग गरेर दीर्घकालीन समाधान निर्माण गर्न सकियो भने, यो केवल दुई देशका लागि मात्र होइन, समग्र अन्तर्राष्ट्रिय प्रणालीका लागि पनि एक महत्वपूर्ण मोड बन्न सक्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button