धार्मिक पर्यटनको गन्तव्य बन्दै सुदूरपश्चिमको बडिमालिका

भूस्वर्गको रूपमा लिइने बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका पर्यटक तथा श्रद्धालु भक्तजनका लागि उत्कृष्ट गन्तव्य बन्न थालेको छ ।

भगवान् शिव पृथ्वी भ्रमणमा रहँदा यो क्षेत्रमा सतीदेवीको बाँया हातको कुम पतन हुनगई सोही बाँया हातको कुमबाट माता बडिमालिकाको उपस्थिति भएको किंवदन्ती छ । यहाँ भगवान् शिवले लामो समय बसोबास गर्नुभएको धार्मिक विश्वास रहिआएको बडिमालिकाका पुजारी भानुभक्त पाध्यायले जानकारी दिनुभयो ।

हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण यो पवित्र स्थलमा पछिल्ला केही वर्षयता स्वदेशी तथा विदेशी धार्मिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । प्राकृतिक दृश्य, धार्मिक आस्था र सांस्कृतिक परम्पराको अद्वितीय रूपले यो क्षेत्र पर्यटक र भक्तजन दुवैका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको स्थानीय बताउँछन् । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका अनुपम उपहार हुन् ।

यहाँका सौन्दर्य भनेकै विशाल फाँटहरू हुन् । बाह्रै महिना चिसो र कुहिरो लाग्ने भएकाले यहाँको प्राकृतिक सौन्दर्यता नियाल्दा जोकोही आकर्षित र मोहित हुन्छन् । समुद्री सतहबाट चार हजार २१९ मिटर उचाइमा रहेको यो क्षेत्रका मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, ती फाँटमाथि फुलेका रङ्गिचङ्गी फूल, विष्णुपानी, धर्मद्वार प्रसिद्धस्थल हुन् ।

खेतीबेती क्षेत्रमा परापूर्वकालमा भगवती र महिसासुरको युद्धका क्रममा रोपिँदै गरेको धान यथास्थितिमा रहेको स्थानीयको भनाइ छ । यहाँ डाँफे, मुनाल, कस्तुरी, झालरलगायत दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पाइन्छन् । सफा मौसमका बेला बडिमालिकाबाट उत्तरतर्फका अपूर्व हिमश्रृङ्खलासहित अपी, सैपाल हिमाल स्पष्ट देख्न सकिने पुजारी पाध्यायले उल्लेख गर्नुभयो ।

सवारीसाधन सञ्चालन हुने सडक पूर्वाधारको अभावमा घोडेटो बाटोमा पैदल हिँडेर यहाँसम्म पुग्न केही कठिनाइ हुने भएपनि पुगेपछि आध्यात्मिक शान्ति, मनोरम हरियाली पाटन, हिमश्रृङ्खला र प्राकृतिक सौन्दर्यका अगाडि यात्राका क्रममा हुने कठिनाइ गौण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

धार्मिक र पर्यटकीय दृष्टिले यो क्षेत्रको महत्त्व बढी भएपनि पूर्वाधार जुटाउने विषयमा सरकारको पर्याप्त ध्यान पुग्न नसकेको गुनासो भक्तजनको छ । स्तरीय बाटो, खानेपानी र शौचालयको अभाव, धर्मशाला एवं बासस्थानको कमीले तीर्थालुलाई कठिनाइ हुने बताइएको छ । सुरक्षित पैदल मार्ग बन्न नसकेका कारण बाटोमा चिप्लियर दर्शनार्थीले कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर पैदल हिँड्ने क्रममा चिप्लिएर कतिपयले अकालमा ज्यान गुमाउनु परेको छ ।

प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश पर्यटन विकास कार्यक्रम इकाइका निमित्त प्रमुख डबलबहादुर बोहराले मन्त्रालयले बडिमालिकाका लागि चालु वर्षमा शौचालयसहितको अतिथि गृह र विश्रमगृह निर्माण गर्ने योजना बनाएको बताउनुभयो ।
आगामी वर्ष एसियाली विकास बैङ्कको सहयोगमा यो क्षेत्रमा थप पूर्वाधारहरू विस्तार गर्नका लागि पहल भइरहेको प्रमुख बोहराले जानकारी दिनुभयो ।

CGTN

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button