फर्पिङ जलविद्युत् केन्द्र: बन्न सक्छ विश्वकै अध्ययन स्थल

नेपालको पहिलो र दक्षिण एसियाकै दोस्रो जलविद्युत् परियोजना फर्पिङ जलविद्युत् केन्द्र २०७२ सालको महाभूकम्पपछि सञ्चालन भएको छैन । नेपालको जलविद्युत् परियोजना विकासको प्रस्थानविन्दु फर्पिङ जलविद्युत् केन्द्रमा रहेका विद्युत् उत्पादन उपकरणमा पनि खिया लाग्न थालेको छ ।
ऐतिहासिक महत्वको फर्पिङ जलविद्युत् केन्द्रलाई विश्वकै उत्कृष्ट र नवीनतम विद्युत् अध्ययन केन्द्र स्थापना गर्ने सम्भावना भए पनि त्यस कार्यमा सरोकारवालाकै ध्यान नपुग्दा उपकरण जीर्ण हुने परिस्थिति बनेको हो । नेपाल विद्युत् प्राधिकरण उपकार्यकारी निर्देशक मदन तिम्सिनाका अनुसार फर्पिङ जलविद्युत् केन्द्रलाई अध्ययन अनुसन्धानका केन्द्र बनाउनका लागि काम सुरु भएको छ । उहाँले इन्जिनियरिङ डिजाइन सम्पन्न भएको र प्रारम्भिक चरणमा एक अर्ब ५० करोड रुपियाँ खर्च गरेर मर्मत तथा अध्ययन केन्द्रका रूपमा अघि बढाउने योजनाका साथ अध्ययन गरिएको बताउनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले फर्पिङ जलविद्युत् केन्द्रलाई सङ्ग्रहालयका रूपमा अघि बढाउन सकिने बताउनुभयो । साथै उहाँले दक्षिण एसियाकै जलविद्युत् अध्ययन केन्द्रकै रूपमा अघि बढाउने सन्दर्भमा अध्ययन र छलफल भइरहेको पनि जानकारी दिनुभयो ।
गोरखापत्र अनलाइनका अनुसार तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेर १९६४ ताका बेलायतबाट फर्किएपछि फर्पिङ जलविद्युत् केन्द्रको निर्माणको खाका बनेको हो । चीनको कुन्मिङमा सन् १९११ मा २४० किलोवाटको र सन् १८९७ भारतको दार्जिलिङनजिकै १३० किलोवाटका जलविद्युत् केन्द्र निर्माण भएको थियो ।
CGTN





