राप्रपा सांसदले खाली कागजमा सही गर्ने कांग्रेस र एमालेका सांसदलाई धिक्कार होस् भनेपछि…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले उपसभामुखलाई अविश्वासको महाअभियोग लगाउन एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई खाली कागजमा सही गराएको भन्दै आक्रोश पोखेपछि सदनमा सवालजवाफ भएको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले आसेपासे नियुक्ति गर्न उपसभामुखलाई अविश्वासको महाअभियोग लगाउने प्रयास गरिएको भन्दै भनिन्, ‘एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई खाली कागजमा सही गराएछन् । सही गराउने कस्तो पार्टी? सही गर्ने कस्ता माननीयहरु धिक्कार होस् ?’

कार्कीको अभिव्यक्तिप्रति नेकपा एमालेका सांसद सूर्य थापाले नियमापत्ति जनाएका थिए । थापाले नियमापत्ति जनाउन लाग्दै गर्दा सांसद कार्कीले भनिन्,’उहाँको बानी नै त्यस्तो हो, जहिले पनि जुरुकजुरुक उठ्नु हुन्छ । उहाँलाई बोल्न दिनु । त्यसपछि म बोल्छु ।’ त्यसपछि सभामखुले थापालाई बोल्न समय दिएका थिए ।

थापाले प्रतिनिधिसभा नियमावली २१(घ) अन्तर्गत नियमापत्ति जनाउँदै आरोपपूर्ण, लाञ्छनापूर्ण, गालीगलौजपूर्ण, अपमानपूर्ण अभिव्यक्तिलाई सभामुखबाट निषेधित गर्नुपर्ने बताए ।

उनले भने, ‘यो आरोपपूर्ण, लाञ्छनापूर्ण, गालीगलौजपूर्ण र अपमानपूर्ण यो ढङ्गको अभिव्यक्तिलाई त्यो कुर्सीबाट निषेधित गरिनुपर्छ । माननीय सदस्यले कस्ता कागजमा सही गराएको भन्ने ढङ्गका जुन लाञ्छनापूर्ण अभिव्यक्ति दिनु भएको छ यो रेकर्डबाट हटाउनुपर्छ । मण्डलेतन्त्रविरूद्ध लडेर यो संसदमा आएका सार्वभौम जनताका प्रतिनिधि हौं। जनताबाट निर्वाचित हौं। कस्ता कागजमा सही गर्छौं यो हामी जानेर, बुझेर सही गर्छौं ।’

त्यसपछि सभामुखले कार्कीलाई फेरि बोल्न समय दिएका थिए ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button