चीन-भारत सम्बन्धमा स्थिरता: सीमासम्बन्धी सहमति, व्यापार र जनस्तरको सहकार्यमा प्रगति

# संकेत किराँती

चीनका विदेशमन्त्री वाङ यीको तीनदिने भारत भ्रमण बुधबार सम्पन्न भएको छ। भ्रमणपछि सार्वजनिक गरिएको जानकारी अनुसार, चीन र भारतबीच लामो समयदेखि चल्दै आएको सीमा विवादसहित व्यापार, सांस्कृतिक आदानप्रदान, प्रत्यक्ष उडान, र कूटनीतिक संयन्त्रहरू पुनर्सञ्चालनमा उल्लेखनीय सहमति भएको छ। चिनियाँ विज्ञहरूका अनुसार यो भ्रमणले दुई देशबीचको सम्बन्धमा स्थिरता ल्याउने संकेत दिएको छ भने परस्पर सहकार्यको भावनालाई पनि पुनः बलियो बनाएको छ।

चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङका अनुसार दुबै पक्षले यस भ्रमण मार्फत सीमा व्यवस्थापनको सन्दर्भमा नयाँ समझदारी हासिल गरेका छन्। दुवै देशले सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न सहमति जनाएका छन्, साथै संवेदनशील क्षेत्रमा सावधानीपूर्वक व्यवस्थापन गर्ने र जहाँ परिस्थिति अनुकूल छ, त्यहाँ सीमा वार्ता अघि बढाउने सहमति भएको छ। सन २००५ मा तय गरिएको राजनीतिक मार्गदर्शन सिद्धान्तअनुसार निष्पक्ष र पारस्परिक रूपमा स्वीकार्य सीमा समाधान खोज्ने विषयमा पनि दुवै पक्ष सहमत भएका छन्।

यसै भ्रमणको क्रममा सम्पन्न भएको २४औं चीन–भारत विशेष प्रतिनिधि स्तरको वार्ताबाट १० बुँदे सहमति भएको छ। यो सहमतिले दुबै देशले विगतमा कजानमा गरेका सहमतिहरूको कार्यान्वयन भएको प्रगति मूल्याङ्कन गरेको छ। विशेष गरी चीन–भारत सीमा क्षेत्र २३औं चरणको वार्तादेखि अहिलेसम्म शान्त र स्थिर रहेको दुवै पक्षको साझा मूल्याङ्कन छ। यो भ्रमणले सीमा व्यवस्थापन संयन्त्रभित्र नयाँ ‘सीमांकन विशेषज्ञ समूह’ गठन गर्ने सहमति पनि ल्याएको छ, जसले सीमा निर्धारणसम्बन्धी वार्ता अघि बढाउने सम्भावनालाई मूल्याङ्कन गर्नेछ।

भ्रमणमा दुई देशले प्रत्यक्ष हवाई उडान छिट्टै पुनः सुरु गर्ने निर्णय गरेका छन्। अद्यावधिक हवाई सेवा सम्झौता तयार पार्ने र पर्यटक, व्यवसायी, सञ्चारकर्मी तथा अन्य आगन्तुकहरूका लागि भिसा प्रक्रिया सहज बनाउने विषयमा पनि समझदारी भएको छ। साथै, भारतीय तीर्थयात्रीहरूका लागि २०२६ मा कैलाश मानसरोवर यात्राको दायरालाई अझ विस्तार गर्ने सहमति भएको छ।

दुबै पक्षले तीनवटा परम्परागत सीमा व्यापार बजार पुनः सञ्चालन गर्ने र २५औं चरणको सीमा वार्ता सन २०२६ मा चीनमा आयोजना गर्ने सहमति गरेका छन्। त्यस्तै, सीमा नाघ्ने नदीहरूमाथि सहकार्यलाई निरन्तरता दिने र बाढीसम्बन्धी आकस्मिक जलप्रवाह सूचना मानवतावादी आधारमा भारतसँग साझा गर्ने प्रतिबद्धता चीनले जनाएको छ।

भ्रमणका क्रममा विदेशमन्त्री वाङ यीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस. जयशंकर, र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेट गरेका थिए। जयशंकरसँगको भेटमा दुबै पक्षबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा सकारात्मक, रचनात्मक र भविष्यमुखी छलफल भएको बताइएको छ।

ब्रिक्स सम्मेलन सम्बन्धी सहकार्यमा पनि दुबै पक्ष सहमत भएका छन्। चीनले भारतलाई सन २०२६ को ब्रिक्स सम्मेलन आयोजना गर्न समर्थन जनाउने र भारतले सन २०२७ को सम्मेलन आयोजना गर्न चीनलाई समर्थन गर्ने सहमति भएको हो। साथै, भारत र चीनबीचको उच्चस्तरीय जन–स्तर संवाद संयन्त्रको तेस्रो बैठक सन २०२६ मा भारतमा आयोजना गर्ने तयारी गरिएको छ।

चीनका दक्षिण एसिया अध्ययन विज्ञ लिउ झोंगयीका अनुसार, यी सहमति र संवादहरूबाट चीन–भारत सम्बन्ध क्रमशः स्थिर हुँदै गएको छ। उनले भारतीय पक्षले यी कदमहरूलाई दीर्घकालीन रूपमा निरन्तरता दिनसक्ने कि नसक्ने भन्ने पक्ष महत्वपूर्ण हुने बताएका छन्।

चीन अन्तर्राष्ट्रिय अध्ययन संस्थानकी एसिया–प्रशान्त विभाग निर्देशक लान जियनशुएका अनुसार, भारतले पछिल्ला वर्षहरूमा चिनियाँ लगानीमाथि लगाएको केही प्रतिबन्ध हटाउने र आर्थिक आत्मविश्वास बढाउन जनस्तरको सहकार्यलाई पुनः सक्रिय बनाउने प्रयास गरिरहेको छ। उनले भारत अमेरिकी उच्च आयात शुल्कजस्ता दबाबहरूको सामना गरिरहेकाले चीनजस्ता देशहरूसँग व्यापारिक सम्बन्ध मजबुत पार्न खोजेको पनि उल्लेख गरेकी छन्।

वाङ यीको भ्रमणले स्पष्ट रूपमा संकेत गरेको छ कि यद्यपि चीन–भारत सीमा विवाद जटिल र दीर्घकालीन समस्या हो, दुबै देश हाललाई त्यसमा शान्ति कायम राख्न र कूटनीतिक माध्यमबाट समाधान खोज्न इच्छुक छन्। भ्रमणले दुई मुलुकबीचको पारस्परिक राजनीतिक विश्वासलाई पुनः सुदृढ गर्न, द्विपक्षीय सहकार्य विस्तार गर्न, र अन्तर्राष्ट्रिय परिवेशमा साझा हितका मुद्दामा सहमति कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। यसले न केवल क्षेत्रीय स्थायित्वमा योगदान पुर्याउनेछ, तर विश्व स्तरमा पनि दुई पुराना सभ्यताहरूले समुन्नत सम्बन्धमार्फत मानव सभ्यतामा गर्ने योगदानलाई थप अर्थ दिने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button