बन्द भएको तीन सातापछि तातोपानी नाकाबाट भित्रन थाले कन्टेनर

अरनिको राजमार्गको कोदारीमा गएको पहिरोका कारण झन्डै तीन सातादेखि ठप्प तातोपानी नाकाबाट यही अगष्ट २१ तारिख बिहीबारदेखि मालवस्तु बोकेका कन्टेनर नेपाल भित्रन थालेका छन्। रसुवा नाका बन्द भएपछि तातोपानी आएका फलफूल लगायतका सयौं मालवाहक कन्टेनर, इलेक्ट्रिक भेहिकल नेपाल भित्र्याइएको कान्तिपुर अनलाइनले लेखेको छ।
तातोपानी भन्सार कार्यालयका अनुसार ४४ वटा मालवाहक कन्टेनर तथा केही ईभी पहिरोको बाटो छिचोल्दै नेपाल प्रवेश गरेका छन्। सडक खुल्नेबित्तिकै बिहीबार साँझ २० वटा खाली कन्टेर पहिरोबाट सीमातर्फ पठाइएको छ। शुक्रबार पनि खाली कन्टेनर पहिरो छिचोलेर सीमा पठाइएको छ। ती कन्टेनरले मितेरी पुलबाट मालवाहक सामान तातोपानी भन्सार ल्याउनेछन्।
पहिरो खुलाउन नियमित फिल्डमा रहेका सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष तथा व्यवसायी बुद्धराज बस्नेतले सडकको अवस्था नबिग्रेकाले कन्टेर आउजाउमा समस्या नभएको बताउनुभयो। उहाँका अनुसार अन्तिमपटक गत साउन १७ मा कन्टेर भन्सार यार्ड प्रवेश गरेका थिए। यस अवधिमा स्याउ, नास्पाती, आँप, अंगुर, लसुन, किबीलगायतका फलफूल, मसलाजन्य मालवस्तु भरियालाई बोकाएरै तातोपानी भन्सार यार्डसम्म ल्याइएको थियो।
यस अवधिमा लाखौं मूल्यका फलफूल सड्दा व्यवसायीले घाटा बेहोरेका छन्। फलफूल र लसुन कन्टेनरमै कुहिन थालेपछि भरिया लगाएर बोकाएइको थियो। ढुवानीमा मात्र एक कन्टेनरमा झन्डै डेढ लाख अतिरिक्त रकम खर्च भएको नेपाल हिमालय सीमापार वाणिज्य संघका सदस्य तथा आयातकर्ता राजेश भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढीपहिरोका कारण गत वर्ष र यस वर्ष फलफूल आयातकर्ताले उठ्नै नसक्नेगरी नोक्सानी बेहोर्नुपरेको छ।
गत असार २४ को बाढीले रसुवा नाका पूर्ण रुपमा बन्द भएपछि चीनबाट उत्तरी नाकाको स्थलमार्ग भएर गरिने व्यापार सबै तातोपानीतर्फ ‘डाइभर्ट’ भएको थियो। तर तातोपानी नाकाको मितेरी पुलबाट करिब २ किमि काठमाडौंतर्फ कोदारीस्थित सडकमा गएको पहिरोका कारण आयात व्यापार ठप्प हुँदै आएको थियो। व्यापार ठप्प भएका कारण चालु वर्षको साउनको राजस्व संकलन ४४ प्रतिशत मात्र भएको भन्सार अधिकृत सूर्य काफ्लेले जानकारी दिनुभयो। उहाँले फलफूलबाट राजस्व संकलन रकम धेरै नहुने भएकाले कमर्सियल (तयारी पोसाक, जुत्ता) को आयात सहज हुनुपर्ने बताउनुभयो। तातोपानी नाकाबाट पछिल्लो समय ईभी पनि धेरै आउने गरेको छ। रसुवा बन्द भएपछि यही नाकाको प्रयोग बढी हुने अनुमान छ।
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार अहिले पनि मालवस्तु बोकेका सयौं कन्टेनर नेलामदेखि खासासम्म नेपाल आउने तयारीमा छन्। विशेषतः तयारी पोसाकलगायत दसैंकेन्द्रित मालवस्तु नेपाल भित्रन पाएका छैनन्। काठमाडौं भित्र्याएर पनि मुलुकमा विभिन्न सहरमा पठाउनुपर्ने सामान समयमा ल्याउन नसक्ने बिक्री नहुने अध्यक्ष कार्कीले बताउनुभयो।
तत्काल सडक खुले पनि बर्सातले कुनै पनि बेला पुनः पहिरो जाने सम्भावना रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष तथा व्यवसायी बुद्धराज बस्नेतको भनाइ छ। ‘स्थायी होइन अस्थायी रुपमा कन्टेर आउजाउ गरेको छ। यसलाई नियमित बनाउन धेरै काम गर्नुपर्ने अवस्था रहेको छ,’ बस्नेतले भन्नुभयो।
भोटेकोशीको तल्लो भागबाट कटिङ गरिरहेको र माथिल्लो भागबाट पहिरो आइरहेकाले कुनै पनि बेला यातायात ठप्प हुन सक्ने सडक डिभिजनका अधिकारीहरु नै बताउँछन्। भूकम्पपछि लगातार चार वर्ष पूर्ण रुपमा बन्द भएर खुलेको तातोपानी नाका जोड्ने सडक कोदारीमा मात्र होइन बाह्रबिसेदेखि मितेरी पुलसम्मकै अवस्था ज्यादै जीर्ण रहेको छ।
रसुवाको नेपाल-चीन जोड्ने मितेरी पुलमा चीनले बेलिब्रिज नराखुन्जेल उत्तरी नाकाबाट हुने सबै व्यापारको केन्द्र तातोपानी नै हुने देखिन्छ। तर नाकाको पूर्वाधार भने ज्यादै कमजोर छ। अहिले पनि नेपाली कन्टेनर मितेरी पुल कटेर तीन किमि मात्र जान पाउँछन्। चिनियाँ ट्रान्सपोर्ट कम्पनीले मितेरी पुलबाट करिब ३ किमि खासातर्फसम्म ल्याएको सामानको कन्टेनरको बडीलाई नेपालीले कन्टेनरको अगाडिको भागले तानेर तातोपानी भन्सारसम्म ल्याउने गरिएको छ। नेपालबाट गएको खाली कन्टेनरलाई पनि चिनियाँ ट्रान्पोर्टको आगाडिको भागले तानेर खासातर्फ लैजाने गरेका छन्। भूकम्पपछि चार वर्ष लगातार बन्द गरेर खुलाइएको नाकाबाट अझै नेपाली कन्टेनरको प्रवेश असहज रहेको अध्यक्ष बस्नेतले बताउनुभयो।
CGTN





