एमालेको सबैभन्दा चर्को विरोध एमाले देशभक्त भएको मन नपराउनेले गरिरहेका छन्ः महासचिव पोखरेल

राँझा (बाँके) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले अबको राष्ट्रिय गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बाँकेको आइतबार नेपालगञ्जमा आयोजित बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अब यो विषय राष्ट्रिय आकांक्षा मात्र नभई पार्टीहरूको लक्ष्य बन्नुपर्नेमा जोड दिए। पार्टीको नीति र कार्यक्रमप्रति सबैको प्रतिबद्धता तथा नेतृत्वप्रतिको अधिनस्थताले पार्टीलाई बलियो बनाउने उल्लेख गर्दै उनले पार्टीमा बहुपदीयको अर्थ बहु गुट हुनु नभएको स्पष्ट पारे।

पार्टीको दोस्रो विधान महाधिवेशनबाट विधानको प्रस्तावनामा जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै त्यसलाई वर्तमान सन्दर्भमा थप परिष्कृत गर्ने र वैज्ञानिक समाजवादको दिशामा अघि बढ्ने विषयलाई थप गरिने उल्लेख गरे।

‘अहिले प्रस्तावनामा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तय गर्ने भन्ने छ, अब समाजवाद कस्तो हुने भन्ने कुरा थप गर्ने छौं ‘, महासचिव पोखरेलले भने, ‘हामीले ल्याउने समाजवाद नेपाली विशेषतामा आधारित हुने वैज्ञानिक समाजवादबारे प्रष्ट्याउने छौं।’

विषयवस्तुको गहिराइलाई बुझेर त्यसमा छलफल र बहस गर्दा विचारमा एकरुपता ल्याइ पार्टीलाई सही दिशामा अघि बढाउन सहयोग पुग्ने उनले उल्लेख गरे। लोकप्रिय हुनुको अर्थ राजनीतिमा सफल हुनु नभएको धारणा राख्दै महासचिव पोखरेलले राजनीति लोकप्रियताले मात्र चल्ने नभई विचार, सिद्धान्त र आदर्शबाट चल्ने बताए। अहिले पार्टी र पार्टी नेतृत्वका विरुद्ध चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको बताउँदै उनले भने, ‘एमालेको सबैभन्दा चर्को विरोध एमाले देशभक्त भएको मन नपराउनेले गरिरहेका छन्।’

नेकपा (एमाले) बाँकेका अध्यक्ष नीरक गुरुङको अध्यक्षतामा भएको पार्टी जिल्ला कमिटी बैठकमा एमाले केन्द्रीय सदस्य शान्ति ढकाल, सूर्य ढकाल, दिपा शर्मा, मोहम्मद हारुन हलवाईलगायतका नेताले आआफ्नो धारणा राखेका थिए।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button