चीन भ्रमणमा प्रधानमन्त्रीले सी र मोदीसँग उठाउनेछन् लिपुलेक सहमतिको विषय

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग हुने भेटवार्तामा नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने जनाइएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सांघाई सहयोग संगठन (एसईओ) शिखर सम्मेलनमा भाग लिन चीन जाने सिलसिलामा सो विषयमा प्रधानमन्त्रीले छिमेकी मुलुकबीच भएको सहमतिबारे कुरा उठाइने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले १४ देखि १८ भदौसम्म चीनको भ्रमण गर्ने तय भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले भने, ‘भारत र चीनका विदेशमन्त्रीबीच लिपुलेकका विषयमा भएको सहमति नेपालको सार्वभौमिकताका विरुद्धमा छ । सांघाई फोरमका सिलसिलामा छिमेकी शीर्ष नेतृत्वबीच हुने उच्चस्तरीय भेटघाटमा यो विषयमा कुराकानी हुन्छ ।’

भ्रमणका क्रममा प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच ‘साइडलाइन’ भेटवार्ताका लागि दुवै देशका तर्फबाट तयारी भइरहेको उनको भनाइ थियो । मन्त्री गुरुङले भारत र चीनका विदेशमन्त्रीबीच नेपालको लिपुलेक भएर व्यापारिक मार्ग प्रयोग गर्ने सन्दर्भमा भएको सहमतिबारेमा नेपाल सरकारका तर्फबाट यसअघि नै परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नोट जारी गरिसकेको बताए ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button