प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण : नेपालका लागि ऐतिहासिक अवसरको निरन्तरता

# मुना चन्द
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण केवल दुई देशबीचको औपचारिक कूटनीतिक भेटघाटमा सीमित छैन। यो भ्रमण नेपालका लागि एक ऐतिहासिक अवसर र राष्ट्रिय गौरवको क्षण बन्न गइरहेको छ। थिआनमन स्क्वायरमा आयोजना हुन लागेको विशाल सैन्य परेडमा प्रधानमन्त्री ओलीले विश्वका शक्तिशाली राष्ट्रनायकहरूसँग एउटै बार्दली (प्याभिलियन) बाट अवलोकन गर्नेछन्। यस्तो दृश्य नेपालको इतिहासमा दुर्लभ अवसरका रूपमा लिइन्छ, जुन विगतमा राजा महेन्द्र र प्रधानमन्त्री टंकप्रसाद आचार्यले मात्र प्राप्त गरेका थिए।
नेपाल-चीन सम्बन्धको इतिहास हेर्दा टंकप्रसाद आचार्य र राजा महेन्द्रको योगदान विशेष रूपमा उल्लेखनीय छ। सन् १९५६ मा टंकप्रसाद आचार्यले जनवादी गणतन्त्र चीनको सातौँ वार्षिकोत्सवमा भाग लिँदै माओ त्सेतुङ र इन्डोनेसियाका राष्ट्रपति सुकार्नोसँगै उभिएर थिआनमन स्क्वायरको सैन्य परेड अवलोकन गरेका थिए। त्यसको पाँच वर्षपछि, सन् १९६१ मा राजा महेन्द्रले पनि त्यही बार्दलीबाट चीनको १२औं वार्षिकोत्सवमा भाग लिएर नेपाल-चीन सम्बन्धलाई थप मजबुत पारेका थिए। आज प्रधानमन्त्री ओली त्यही गौरवशाली मार्गमा पाइला टेकेका छन्।
यो अवसर अझ विशेष र ऐतिहासिक बन्नुको कारण भनेको चीनले आमन्त्रण गरेको विशिष्ट राष्ट्रनायकहरूको सूची हो। राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ-उन, इरानी राष्ट्रपति मसुद पेजेस्कियन, इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबिआन्तो, बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम, पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ, क्युबाका राष्ट्रपति मिगुएल दिआस-कानेल, जिम्बाब्वेका राष्ट्रपति इमर्सन मनाङगाग्वा लगायत विश्वका २६ प्रभावशाली नेताहरूको उपस्थिति यो कार्यक्रमलाई विश्वकै ध्यानाकर्षण गर्ने मञ्चमा परिणत गर्दैछ।
यी नेताहरू सँगै उभिएर नेपालका प्रधानमन्त्रीले भाग लिने अवसर पाउनु नेपालको अन्तर्राष्ट्रिय उपस्थितिको दृष्टिकोणबाट निकै महत्वपूर्ण उपलब्धि हो। यसले केवल ओलीको व्यक्तिगत कूटनीतिक सफलताको प्रतिविम्ब होइन, नेपालको असंलग्न परराष्ट्र नीतिको सफल अभ्यासको पनि प्रतिबिम्ब हो।
नेपाल सानो, भू-आवेष्ठित राष्ट्र भए पनि यसको भू-राजनीतिक अवस्थिति अत्यन्तै संवेदनशील छ। भारत र चीनजस्ता दुई महाशक्तिहरूको बीचमा अवस्थित नेपालले सन्तुलित कूटनीति, सम्मानजनक सम्बन्ध र स्वाभिमानी उपस्थिति कायम गर्नु चुनौतीपूर्ण छ। यस्ता चुनौतीबीच ओलीको चीन भ्रमणले सन्देश दिन्छ, नेपाल विश्वका शक्तिशाली नेताहरूको मञ्चमा पनि आत्मविश्वासका साथ उभिन सक्छ।
प्रधानमन्त्री ओलीको यो भ्रमणले नेपाल-चीन सम्बन्धमा नयाँ ऊर्जा भर्ने निश्चित छ। व्यापार, पूर्वाधार, पर्यटन, लगानी, सीमा सुरक्षा लगायतका क्षेत्रमा आपसी सहकार्य बढाउने सम्भावनाहरू यस भ्रमणबाट खुलेका छन्। यति मात्र होइन, यो यात्रा नेपालको अन्तर्राष्ट्रिय कूटनीतिक सक्रियताको प्रतीक पनि हो।
विगतमा नेपालले कहिले कहिले भारत केन्द्रित परराष्ट्र नीति अख्तियार गरेको देखिएको छ, जसले चीनसँगको सन्तुलनमा प्रभाव पारेको थियो। तर पछिल्ला वर्षहरूमा नेपालले दुवै छिमेकीहरूसँग सन्तुलन कायम गर्दै आत्मनिर्भर कूटनीतिक पहिचान बनाउने प्रयास गरेको छ। प्रधानमन्त्री ओलीको चीन भ्रमण यही प्रयत्नको निरन्तरता हो।
यस भ्रमणमा प्रधानमन्त्री ओलीले विश्व नेताहरूसँग भेटघाट गर्ने अवसर पाउनेछन्, जसले भविष्यमा बहुपक्षीय सहयोग र द्विपक्षीय सहकार्यका नयाँ ढोका खोल्न सक्छ। नेपालजस्तो विकासोन्मुख राष्ट्रका लागि यस्ता अवसरहरूमा रणनीतिक चातुर्यता प्रदर्शन गर्नु अत्यन्त आवश्यक हुन्छ। ओलीको कूटनीतिक अनुभव र दृढताले त्यसमा सफलता मिल्ने अपेक्षा गरिएको छ।
अन्त्यमा, राजा महेन्द्र र टंकप्रसाद आचार्यले देखाएको मार्गमा प्रधानमन्त्री ओलीले नयाँ अध्याय थप्न लागेका छन्। यो केवल इतिहासको पुनरावृत्ति होइन, नेपालको कूटनीतिक इतिहासमा नयाँ पृष्ठ थप्ने क्षण हो। विश्वका शक्तिशाली नेताहरूसँग एकै बार्दलीमा उभिनु केवल सम्मानको विषय होइन, उत्तरदायित्वको विषय पनि हो। प्रधानमन्त्री ओलीले नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा उँचो बनाउन सकेमा यो यात्रा साँच्चिकै ऐतिहासिक सावित हुनेछ।





