नेपाल-चीन मैत्री, सद्भावना र सहयोगको नयाँ अध्याय

सम्पादकीय

चीनको थियाञ्चिनमा भएको ऐतिहासिक भेटवार्ताले चीन र नेपालबीचको सदियौं पुरानो मैत्री र रणनीतिक साझेदारीमा अर्को ठूलो माइलस्टाेन रेखाङ्कित गरेको छ। राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको यस भेटवार्ताले दुवै देशबीचको गहिरो रणनीतिक विश्वास, आपसी सम्मान र साझा हितलाई पुनः प्रकट गरेको छ।

यो भेटवार्ता केवल कूटनीतिक औपचारिकता होइन, बरु दुई छिमेकी मुलुकबीचको अटूट बन्धनको प्रतीक हो। राष्ट्रपति सीले जनाएझैं, पहाड-पर्वतले जोडिएका यी देशहरू शान्ति प्रेमी, आत्मनिर्भर र बलियो राष्ट्रका रूपमा एकअर्काको विकास यात्रामा सहयोगी बनेका छन्। ७० वर्षको कूटनीतिक सम्बन्धको इतिहासले देखाएको छ कि चीन र नेपालले सधैं एकअर्काको संप्रभुता, क्षेत्रीय अखण्डता र राष्ट्रिय गौरवको सम्मान गर्दै आएका छन्।

‘बेल्ट एण्ड रोड’ पहलकदमी अन्तर्गत सहयोगलाई अगाडि बढाउने चीनको प्रतिबद्धताले यस सम्बन्धलाई अझ गहिराे बनाउने आधार तय गरेको छ। इन्टरकनेक्टिभिटी बढाउने, आधुनिक प्रविधि, ऊर्जा, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा सहकार्यलाई विस्तार दिँदै यसबाट दुवै देशका जनताले ठूलो आर्थिक र सामाजिक लाभ प्राप्त गर्नेछन्। विशेषगरी, नेपालले आर्थिक विकास र सामाजिक प्रगतिमा चीनको सहयोगलाई महत्वपूर्ण मानेको छ, जसले यस साझेदारीको व्यावहारिक पक्षलाई उजागर गर्दछ।

नेपालले एक चीन सिद्धान्तलाई अङ्गीकार गर्दै, ताइवान कुनै पनि प्रकारको स्वतन्त्रताको कडा विरोध गरेको छ। यसले नेपालको चीनप्रतिको दृढ राजनीतिक समर्थन र आपसी विश्वासलाई देखाउँछ। संयुक्त राष्ट्र सङ्घ र शांघाई सहयोग सङ्गठन जस्ता बहुपक्षीय मञ्चहरूमा सहकार्य बलियो बनाउने प्रतिवद्धताले क्षेत्रीय र वैश्विक शान्ति र विकासमा चीन र नेपालको साझा जिम्मेवारीलाई पनि प्रतिबिम्बित गर्दछ।

चीन-नेपाल मैत्री केवल द्विपक्षीय हितमा सीमित नरहि, यसले क्षेत्रिय सहयोग र सद्भावनाको एउटा उदाहरण पनि कायम गरेको छ। यो साझेदारीबाट प्रेरणा लिँदै दुई देशहरूले आपसी विश्वास, सम्मान र लाभको आधारमा अझै गहिरो सहयोग बढाउँदै, साझा भविष्यको निर्माण गर्न सक्नेछन्। चीन र नेपालबीचको यो ऐतिहासिक मैत्री सदाका लागि कायम रहोस् र दुई राष्ट्रको जनतालाई समृद्धि र शान्तिको नयाँ मार्गमा लैजाओस्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button