विश्व शासनको नयाँ दिशातर्फ चीनको पहल

# मुना चन्द
चीनले प्रस्तुत गरेको “Global Governance Initiative (GGI)” विश्व शासनको क्षेत्रमा एक महत्वपूर्ण र दूरदर्शी प्रस्तावको रूपमा अगाडि आएको छ। सेप्टेम्बर ४ तारिख थियाञ्चिनमा आयोजित “शाङ्घाई सहयोग संगठन प्लस” सम्मेलनमा प्रस्तुत भएको GGI प्रस्तावलाई संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले स्वागत गर्दै बहुपक्षीय अन्तर्राष्ट्रिय सहकार्य र जनमुखी दृष्टिकोणलाई जोड दिनुपर्नेमा विशेष जोड दिनुभयो। उहाँले संयुक्त राष्ट्रसंघको स्थापनाको ८० औँ वार्षिकोत्सवको अवसरमा २१औँ शताब्दीको अन्तर्राष्ट्रिय प्रणालीलाई अद्यावधिक गर्नुपर्ने आवश्यकता औंल्याउँदै चीनको प्रस्तावलाई सकारात्मक रूपले समर्थन गर्नुभयो।
चीनको यो पहल केवल कागजी अवधारणामा सीमित छैन। यसले व्यवहारमा पनि बृहत अन्तर्राष्ट्रिय समर्थन पाएको देखिन्छ। विशेषगरी विकासोन्मुख राष्ट्रहरू, अफ्रिकी देशहरू, र G77 जस्ता समूहहरूले GGI जस्ता प्रस्तावहरूलाई आफ्नो आवाजको प्रतिनिधित्व गर्ने, संस्थागत असमानता अन्त्य गर्ने, र पारस्परिक विकासको मार्ग खोल्ने अवसरको रूपमा लिएका छन्। गुटेरस स्वयंले पनि यिनै समूहहरूलाई परिवर्तनको अगुवाइ गर्न आग्रह गर्दै वर्तमान विश्व प्रणालीबाट लाभ लिनेहरूले परिवर्तन गर्न नचाहने उल्लेख गर्नुभएको थियो।
GGI, GDI (Global Development Initiative), GSI (Global Security Initiative), र BRI (Belt and Road Initiative) जस्ता चीनका अन्य बहुपक्षीय पहलहरूसँग समन्वयमा अघि बढ्दैछ। यी सबै पहलहरूले दिगो विकास, खाद्य सुरक्षा, ऊर्जा संक्रमण, डिजिटल पहुँच, तथा संरचनागत सुधारका माध्यमबाट विकासशील राष्ट्रहरूलाई सशक्त बनाउने उद्देश्य राख्छन्। यी पहलहरूलाई संयुक्त राष्ट्रसंघको तर्फबाट समेत उच्च मूल्याङ्कन गरिएको छ, जसले चीनको विश्व शासनमा अग्रसर भूमिकालाई वैधता प्रदान गरेको छ।
GGI को मूल मर्म बहुपक्षीयताको संरक्षण, अन्तर्राष्ट्रिय कानुनको सम्मान, र मानव केन्द्रित सहकार्यमा आधारित विश्व व्यवस्थाको स्थापना हो। महासचिव गुटेरसले यस मर्मलाई आत्मसात गर्दै GGI प्रति समर्थन जनाउनु र चीन–संयुक्त राष्ट्रसंघ सहकार्यलाई थप सुदृढ गर्न इच्छा व्यक्त गर्नु, विश्व शासनको भविष्य चीनको योगदानबिना सम्भव छैन भन्ने संकेत हो।
आजको असमान, ध्रुवीकृत र अव्यवस्थित विश्वमा GGI जस्तो पहलले न केवल नयाँ सम्भावनाहरूको ढोका खोल्छ, बरु विकासशील राष्ट्रहरूको सहभागिता सुनिश्चित गर्दै विश्वव्यापी न्यायपूर्ण संरचनाको निर्माणमा मार्गदर्शन गर्छ। चीनको नेतृत्वमा प्रस्तावित यो दृष्टिकोण विश्व शासनको इतिहासमा एक सशक्त र परिवर्तनकारी मोड सावित हुनसक्छ।





