एक ऐतिहासिक नियुक्ति र नयाँ संवैधानिक प्रश्न

नेपाली राजनीतिक इतिहासको एक नाजुक मोडमा, माननीय सुशीला कार्कीले देशको प्रधानमन्त्रीपदको भारी जिम्मेवारी बहन गर्ने घोषणा भएकोमा हार्दिक बधाई छ। राष्ट्रपतिमा प्रदान गरिएको संवैधानिक अवशिष्ट अधिकार (Inherent Residual Power) को प्रयोगबाट भएको यो नियुक्तिले एक ऐतिहासिक उपलब्धि हासिल गर्दै, साथै संविधानवादमा गहिरो वैचारिक बहसको पनि सुरुवात गरेको छ।
माननीय कार्की नेपालको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बन्नु भएकोमा सम्पूर्ण राष्ट्र गाैरवान्वित छ । साथै, उहाँ संविधानको कुनै पनि विशेष धारा उल्लेख नभएतापनि राष्ट्रपतिको अवशिष्ट अधिकारको आधारमा नियुक्त हुने पहिलो प्रधानमन्त्री पनि हुनुहुन्छ। पूर्व प्रधानन्यायाधीशका रूपमा उहाँले संविधान प्रतिको गहिरो आस्था र कानूनी विवेक प्रदर्शन गर्नुभएको छ। यसैकारण, देशको वर्तमान राजनीतिक गतिरोधलाई हटाउँदै संवैधानिक प्रक्रियालाई अगाडि बढाउने महत्वपूर्ण जिम्मेवारी उहाँलाई सुम्पिएकोमा राष्ट्रव्यापी आशा र आत्मविश्वास छ।
तर, यस नियुक्तिले स्थापना गरेको ‘नजीर’ (precedence) लाई संवैधानिक दृष्टिले हेर्नु पनि जरुरी छ। यसबाट यो स्पष्ट भएको छ कि नेपालको संविधानमा नलेखिए पनि आलंकारिक राष्ट्रपतिमा केही अन्तरनिहित अवशिष्ट अधिकार हुन्छन्, जसलाई अत्यन्तै विशेष र नाजुक परिस्थितिमा मात्र प्रयोग गर्न सकिन्छ। यसले गर्दा भविष्यमा, प्रधानमन्त्री वा मन्त्रिपरिषदको सिफारिसलाई राष्ट्रपतिले आफ्नो संवैधानिक विवेकानुसार ‘निरस्त्र’ गर्ने ढोका खुलेको छ भन्ने तर्क पनि उठ्न सक्छ। यो शक्ति लोकतन्त्रका लागि ‘अग्रगमनकारी’ हो कि ‘प्रतिगमनकारी’, भन्ने विषयमा विद्वान र संवैधानिक विशेषज्ञहरूबीच बहस चल्ने देखिन्छ।
यसको मध्यवर्ती निर्वाचनभित्रै आमनिर्वाचन सम्पन्न गराउने जिम्मेवारी उहाँलाई दिइएको छ। यो कार्य सहज होइन, तर उहाँको अनुभव र निष्पक्षतामा देशवासीहरूको विश्वास छ। यो जटिल राजनीतिक परिवेशमा, नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका सबै प्रमुख दलहरूले राष्ट्रपतिसँग कुनै न कुनै सहमति गरेर यो मार्ग प्रशस्त गरेका छन्, जुन राष्ट्रहितको लागि सकारात्मक कदम हो।
अन्त्यमा, यस नियुक्तिले उठाएका संवैधानिक प्रश्नहरू, जस्तै अवशिष्ट अधिकारको सीमा र स्वरूप, अन्ततः सर्वोच्च अदालतमा ‘रीट’ को रूपमा पुगेर यसको स्पष्ट व्याख्या हुनेछ। तर, हालको लागि, माननीय सुशीला कार्कीको नेतृत्वमा देशले स्थिरताको मार्गमा अगाडि बढोस् भन्ने कामना गर्दछौं। उहाँको कार्यकाल सफल होस्, र उहाँको नेतृत्व नेपाल र नेपाली जनताको हितमा समर्पित होस् भन्ने हार्दिक इच्छा र शुभकामना व्यक्त गर्दछौं।





