जेनजी प्रदर्शनीमा नेपालमा रहेका सबै विदेशी पर्यटक सुरक्षित

नेपालमा गत हप्ता भएको जेनजी प्रदर्शनीका कारण विभिन्न होटेलमा करिब २५ अर्ब रुपियाँको प्रारम्भिक क्षति आकलन भए पनि होटेलमा कुनै पर्यटकलाई हानीनोक्सानी नभएको होटल संघ नेपाल हानले जनाएको छ। हानका सदस्य होटेलबाट प्राप्त जानकारी अनुसार होटेलमा भौतिक क्षति पुगे पनि पर्यटकलाई कुनै हानीनोक्सानी भएको नपाइएको सङ्घका अध्यक्ष विनायक शाहले जानकारी दिनुभएको गोरखापत्र अनलाइनले लेखेको छ। “तोडफोड र आगजनी भए पनि होटेलमा भएका पर्यटकलाई तुरुन्तै सुरक्षित रूपमा व्यवस्थापन गर्न सफल भयौँ,” उहाँले भन्नुभयो।
हानका अनुसार भदौ १६ गतेदेखि प्रदर्शन सुरु भएको दिन अर्थात् भदौ २३ गतेसम्म १५ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यी पर्यटक मुख्य गरी काठमाडौँ, पोखरा र चितवनका विभिन्न होटेलमा रहेको पाइएको हान अध्यक्ष शाहले बताउनुभयो। “त्यसमध्ये कोही पर्यटकलाई पनि क्षति भएको पाएका छैनौँ,” उहाँले भन्नुभयो। कफ्र्यु, विमानस्थल बन्दका कारण पर्यटकलाई केही दुःख भए पनि उनीहरूलाई व्यक्तिगत आक्रमण अथवा क्षति नभएको उहाँले बताउनुभयो।
परिस्थिति सामान्य भएकाले जुन उद्देश्यले पर्यटक नेपाल भित्रिएका हुन् त्यसमा सहजीकरण गर्ने र उनीहरूलाई सकुशल आफ्नो देश फर्काउने गरी होटेलहरू लागिरहेको पनि शाहले बताउनुभयो। उहाँका अनुसार अहिलेसम्म उक्त अवधिमा नेपाल भित्रिएकामध्ये करिब आधा पर्यटकलाई सकुशल फर्काइएको छ।
जेनजी प्रदर्शन मात्र होइन यसअघिका कुनै पनि राजनीतिक प्रदर्शनमा विदेशी पर्यटकलाई क्षति नपुगेको बोर्डका प्रमुख कार्यकारी जोशी दाबी गर्नुहुन्छ। “दुई दशकमा आन्दोलनका कारण कोही पर्यटक पनि अप्ठ्यारो परेका छैनन्,” उहाँले भन्नुभयो, “यसले नेपाली नागरिक पर्यटकप्रति सहिष्णु र संवेदनशील रहेको देखाउँछ।”
प्रदर्शनकै बिचमा पनि पर्यटकलाई आवश्यक समन्वय र सहजीकरणमा पनि कुनै कमी हुन नदिएको बोर्डले जनाएको छ। जेनजी प्रदर्शनकै क्रममा पनि काठमाडौँबाट पोखरा अथवा चितवन जानुपर्ने र त्यहाँबाट काठमाडौँ आउनुपर्ने पर्यटकलाई पनि यात्राका लागि बोर्डले सहजीकरण गरेको र त्यस क्रममा पनि कुनै समस्या नभएको जोशीले जानकारी दिनुभयो।
“हामीले सञ्चालनमा ल्याएको सटल (बस) पर्यटकको आवतजावतका लागि एकदमै प्रभावकारी भयो,” उहाँले भन्नुभयो। होटेलमा बसेका र यात्राका लागि समेत सहजीकरण हुँदा पर्यटकले अप्ठ्यारो अवस्थामा पनि नेपाल हुँदा धेरै समस्या भोग्नु नपरेको उहाँको भनाइ छ।
उपत्यकाबाट बाहिरिने बढे
असहज परिस्थितिका कारण बन्द भएको हवाई उडान खुलेयता काठमाडौँ उपत्यकाबाट बाहिरिने हवाई यात्रु बढेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आन्दोलनका कारण उपत्यकामै रोकिएका र चाडपर्वमा थातथलो फर्किनेको चापले अहिले आन्तरिकतर्फको टर्मिनल भरिभराउ छ।
विमानस्थल कार्यालयका प्रवक्ता रेन्जी शेर्पाले भन्नुभयो, “दुई दिन बन्द भएको उडान खुलेयता उपत्यकाबाहिर जाने यात्रु बढेका छन्। दसैँलगायतका चाडपर्व नजिकिएसँगै आन्तरिकतर्फ मात्रै नभएर विदेशबाट भित्रिने यात्रुसमेत बढ्दै गएका छन्।” आन्तरिकतर्फ हाल काठमाडौँबाट पोखरा, नेपालगन्ज, भैरहवा, धनगढीलगायतका गन्तव्यमा यात्रुको चाप बढी रहेको जानकारी दिँदै उहाँले बिहीबार, शुक्रबार र शनिबार काठमाडौँबाट १२ सय हाराहारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान अवतरण भएको बताउनुभयो।
उपत्यका भित्रिनेभन्दा बाहिरिने यात्रुले जहाज भरिभराउ हुन थालेपछि काठमाडौँबाट विभिन्न गन्तव्यको हवाई भाडासमेत वृद्धि हुँदै गएको छ।
CGTN





