संविधान दिवस: विदेशी प्रभावको छायाँमा आम सहमतिको खोज
सम्पादकीय

आज संविधान दिवस। यो दिन नेपालको इतिहासमा २०७२ सालमा जनताको लामो संघर्ष र त्यागपछि लागू भएको संविधानलाई सम्झने अवसर हो। तर यसै संविधानले आज नेपाल र नेपालीलाई पूर्णरूपमा सम्बोधन गर्न नसकेको, विशेषगरी यसको निर्माण प्रक्रियामा पश्चिमा राष्ट्रहरू (अमेरिका र यूरोपियन देशहरू) को स्वार्थ र प्रभावको छायाँ लागेको आरोपले यसको आैचित्यमा नै प्रश्न उठाएको छ।
संविधान निर्माणको ऐतिहासिक क्षणमा अन्तर्राष्ट्रिय समुदायको भूमिका स्पष्ट रह्यो। तर यो भूमिका कहीं मद्दतको थियो भने कहीं यसले नेपाली जनताको इच्छा भन्दा बाहिरिका हितलाई बढावा दिएको आरोप लाग्छ। पश्चिमा देशहरूको राजनीतिक र सांस्कृतिक प्रभावले नेपालको संवैधानिक प्रक्रियामा असहजता थपेको छ। यसले गर्दा नेपाली जनताको वास्तविक आकांक्षा र राष्ट्रिय हित प्रतिबिम्बित हुन नसकेको महसुस हुन्छ।
नेपालको संविधान आन्तरिक सहमतिको परिणति हुनुपर्नेमा बाह्य शक्तिको प्रभावले यसको वैधतामा कालो धब्बा लगाएको छ। यसले गर्दा संविधानप्रतिको जनताको विश्वासमा पनि चिरा पर्ने स्थिति बनेको छ। नेपाली जनताको इच्छा र आकांक्षाको प्रतिनिधित्व गर्ने हुनुपर्छ, अनिमात्र संविधानको आैचित्य रहन्छ,
कुनै बाह्य शक्तिको हितको हुनुहुँदैन।
संविधान जीवन्त दस्तावेज हो। समय र परिस्थिति अनुसार यसमा संशोधन हुनसक्छ। आवश्यकता छ सबै पक्षलाई संवादमा ल्याउने, स्वतन्त्र र विश्वासको वातावरण कायम गर्ने। संविधान दिवसले हामीलाई यो सोच्न प्रेरित गर्छ कि हामीले कति बाटो हिँड्यौं र कति बाटो हिँड्न बाँकी छ। संविधानले सबै नेपालीको आकांक्षालाई समेट्ने, सबैलाई न्याय, समानता र स्वतन्त्रता दिने गरी अझ समावेशी बनाउनु आजको आवश्यकता हो।
संविधान दिवसको अवसरमा, हामी सबैले एउटा कुरा सोध्नुपर्छ – संविधानले सबै नेपालीहरूलाई समान रूपमा प्रतिनिधित्व गर्छ कि गर्दैन ? यदि हाम्रो उत्तर ‘गर्छ’ भएन भने, यसलाई मजबुत, समावेशी र सबैको लागि स्वीकार्य बनाउन के गर्न सकिन्छ भन्ने चिन्तन गर्नुपर्छ। राष्ट्र निर्माणको बाटो सहमति र सहकार्यबाटै हुँदै आएको छ र हुनुपर्छ।




