नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति भंग गर्दै विशेष महाधिवेशनको घोषणा गर्यो

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सम्पन्न भएको छ। बैठकले पार्टीभित्र रूपान्तरण, एकीकरण र आगामी निर्वाचनसम्बन्धी गम्भीर निर्णयहरू गरेको छ।

बैठकले सर्वप्रथम अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत पार्टी रूपान्तरण सम्बन्धी प्रस्तावलाई पारित गरेको छ। साथै, जनयुद्ध, जनआन्दोलन र हालैको जेन-जी विद्रोहका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरी पार्टी शुद्धिकरण र पुनर्निर्माणको प्रतिबद्धता जनाएको छ।

बैठकले वर्तमान केन्द्रीय समिति भंग गरिएको घोषणा गर्दै आगामी मंसीर मसान्तभित्र विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति र सचिवालय गठन गरिनेछ। बैठकले विचार मिल्ने माओवादी धारा र वामपन्थी पार्टीहरूसँग एकताको प्रक्रिया अगाडि बढाउने र विशेष महाधिवेशनलाई नै “एकता महाधिवेशन” को रूपमा सम्पन्न गर्ने लक्ष्य राखेको छ।

अन्तरिम सरकारले घोषणा गरेको निर्वाचनमा सहभागी हुने र निर्वाचन सफल पार्न पार्टीले सक्रिय भूमिका खेल्ने निर्णय बैठकले गरेको छ। आसन्न निर्वाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, समानुपातिक निर्वाचन प्रणाली र विज्ञहरूलाई मन्त्री बनाउने जस्ता मुद्दाहरूलाई राष्ट्रिय स्तरमा उठाउने निर्णय पनि गरिएको छ।

पार्टीभित्र नेपोटिज्म र भ्रष्टाचार विरुद्ध कदम चाल्ने निर्णय भएको छ। नेताहरूको सम्पत्ति छानविन गर्ने शक्तिशाली आयोग गठन गरिनेछ। पार्टी कार्यालय र नेताहरूका सचिवालयहरूमा परिवारका सदस्यहरूको नियुक्ति रोकिएको छ र प्रविधिमैत्री जनशक्ति राख्नेछ। जेन-जी आन्दोलनको प्रतिनिधित्व पार्टीका सबै कमिटीहरूमा गराउने र युवाहरूको प्रतिनिधित्व बढाउने छ। बैठकमा नेतृत्व विकास र हस्तान्तरणको बहस भएको र आगामी महाधिवेशनबाट यसलाई कानूनी ढंगले अगाडि बढाउने निर्णय भएको छ।

यी निर्णयहरूद्वारा पार्टीले आन्तरिक सुधार, व्यापक वाम एकता र आगामी राजनीतिक प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्ने आकांक्षा व्यक्त गरेको देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button