ओलीको राहदानी राेक्का र पूर्वाग्रहकाे राजनीति

# किशोर श्रेष्ठ, वरिष्ठ पत्रकार

धेरैलाई लागेको छ-छानबिनका नाममा केपी ओलीको राहदानी रोक्का गरिएको घटना सत्ता परिवर्तनपछि देखिने पूर्वाग्रहको पराकाष्ठा हो।

यसो भनिरहँदा रवि लामिछानेको दोहोरो नागरिकता, दोहोरो राहदानी, करछली, प्रेस, श्रम र अध्यागमन कानुन उल्लंघनवारे सबैभन्दा पहिले प्रश्न उठाउने तत्कालिन प्रेस काउन्सिल, नेपालका तर्फबाट विश्व प्रेस काउन्सिलमा आवध्द जिम्मेवार पदाधिकारीमाथि बेफ्वाँकमा रिस पोखिएको एउटा प्रसङ्ग यहाँनेर स्मरणीय हुन आउँछ। अमेरिकी सुखको जिन्दगी छाडेर आएको र “मैले सरकारी टेलिभिजनमा सीधा कुरा प्रधानमन्त्रीसङ्ग” नामक कार्यक्रम सित्तैमा चलाउन दिएको पात्रलाई गरिखान नदिने ? पख्लास् तँलाई देखाइदिन्छु भन्दै उहाँले एक दिन ती पदाधिकारीलाई नेपाल सरकारकै निर्णयबाट उपलब्ध गराइएको कूटनीतिक पासपोर्ट जफतका निम्ति क्याबिनेट बैठकमा ठाडो प्रस्ताव लानुभयो। यद्यपि त्यतिबेलै रविको झुण्डद्वारा सामाजिक सन्जालमार्फत आफ्नो छोरामाथि गरिएको अशिष्ट र अराजक आक्रमणको सन्तापका कारण निदान अस्पतालको आइसियुमा प्राण गुमाएकी आमाको सवा ५ बजे भएको निधनको जानकारी क्याबिनेट बैठक चल्दाचल्दै कानुनमन्त्री शेरबहादुर तामाङ्ग र सञ्चार मन्त्री गोकुल बाँस्कोटामार्फत पुगेका कारण केपी कमरेडको उक्त एकल निर्णय माइन्युटिङ्ग हुन पाएन। सोही प्रकरणसहित आफ्नै दुई प्रस्ताव रिसै रिसमा प्रधानमन्त्रीले फालिदिएको र मुख्यसचिव लोकदर्शन रेग्मीले भुइँबाट टिप्नुपरेको प्रसङ्गवारे तत्कालिन परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले धेरैभन्दा धेरै विवरण दिन सक्नुहुनेछ।

रवि गलत थिए,समयले यो तथ्य पटकपटक पुष्टि गरिसकेको छ। अनि त्यतिबेलै उनका गलत धन्दा उजागर गरिदिने प्रेस जगतको एक मात्र आधिकारिक/नियामक निकायका प्रमुखमाथि बदलास्वरुप उहाँबाट गरिएको त्यसखाले अपमान र भुक्तमानलाई के भन्ने ? के तपाईं हिसाब निकाल्न सक्नुहुन्छ-ब्रम्हज्ञानी केपी कमरेडबाट यसरी नै पीडित हुने प्रेस काउन्सिलजस्तै विभिन्न निकायका पदाधिकारीहरुको संख्या कति पुग्यो होला आजका मितिसम्म ?

यो कुनै तीतो पोखाइ हैन,केवल जीवनको मीठो भोगाइ हो। अरु कसैको जीवनसङ्ग मेल खान गएमा संयोग मात्र हुनेछ।
फेरि पनि भनिरहन्छु म-न्यायिक छानबिनका नाममा आज पूर्व प्रधानमन्त्री ओलीमाथि राहदानी रोकेर जे, जसरी हुर्मत लिने काम भयो, त्यो पूर्वाग्रह र प्रतिशोधपूर्ण छ जसलाई एमालेको तमाम नेता, कार्यकर्ता पंक्तिले जति निन्दा गरे पनि पुग्दैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button