नेपाली डाक्टरलाई चीनमा ठूलो सम्मान

अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालय र एल्सिभियर पब्लिसिङ हाउसले संयुक्त रूपमा सार्वजनिक गरेको विश्वकै शीर्ष २ प्रतिशत वैज्ञानिकहरूको सूचीमा चीनमा कार्यरत नेपाली वैज्ञानिक डा. विमल चित्रकार पनि परेका छन् । चीनको हपेई एग्रिकल्चर युनिभर्सिटी,फुड साइन्स एण्ड टेक्नोलोजी कलेज (बाओडिङ, हपेई प्रान्त) मा कार्यरत ललितपुर महानगरपालिका-६ सुन्धारा निवासी  चित्रकार ‘शीर्ष २ प्रतिशत विश्वस्तरीय वैज्ञानिक’ सूचीमा समावेश भएका हुन् । सो सूचीमा खाद्य बिज्ञान क्षेत्रअन्तर्गत  चीन र चिनियाँ भूभागका पाँच सय ६८ जना वैज्ञानिकको नाम उल्लेख छ ।

स्कोपस डेटाबेसका आधारमा तयार पारिएको सूचीमा वैज्ञानिकको दीर्घकालीन अनुसन्धान क्षमता मापन गर्दै उद्धरण संख्या,एच–इन्डेक्स, सहलेखकअनुसार समायोजित एचएम–इन्डेक्स,र पहिलो लेखक वा एकल लेखकका रुपमा प्रकाशित लेखहरूको उद्धरण स्थिति जस्ता सूचकाङ्क समावेश छन् । विश्वका झण्डै ७० लाख वैज्ञानिकमध्येबाट शीर्ष २ प्रतिशत छनोट गरिएको सूचीमा २२ वटा प्रमुख विषय र एक ७४ उप विषयलाई समेटिएको थियो ।

को हुन् डा. विमल ?

डा. विमल चित्रकारले सन् २०२१ मा चीनको चियाङनान् विश्वविद्यालयबाट पिएचडी उपाधि हासिल गरेका थिए । उक्त विश्वविद्यालय विश्वमै फुड साइन्स क्षेत्रमा अग्रणी मानिन्छ । यसअघि सोही विश्वविद्यालयबाट सन् २००६ मा स्नातकोत्तर तह उत्तिर्ण गरेका थिए ।

सो क्रममा डा. चित्रकारले ट्रेण्ड्स इन फुड साइन्स एण्ड टेक्नोलोजी,क्रिटिकल रिभ्युज इन फुड साइन्स एण्ड न्युट्रिसन, फुड केमिष्ट्रीलगायतका प्रतिष्ठित जर्नलमा महत्वपूर्ण अनुसन्धान प्रकाशित गरिसकेका छन् । त्यसैगरी चियाङ्सु प्रान्तीयस्तरको आउटस्टाण्डिङ स्टुडेन्ट अवार्ड २०१९, विश्वविद्यालय स्तरीय प्रेसिडेन्ट स्कलरसिप अवार्ड २०१८ र २०१९ तथा एकेडेमिक स्टार अवार्ड २०२० पनि हासिल गरेका छन् ।

सन् २०२१ पछि उनले हपई एग्रिकल्चर युनिभर्सिटीमा एसोसिएट प्रोफेसर तथा मास्टर तहको सुपरभाइजर जिम्मेवारी सम्हाल्दै आएका छन् । हालसम्म एक सय २० भन्दा बढी वैज्ञानिक लेख प्रकाशित गरेका उनले ३३ सयभन्दा बढी उद्धरण प्राप्त गरेको बताइन्छ । डा. चित्रकारको एच–इन्डेक्स ३१ रहेको छ ।

उनको पहलमा हपेई एग्रिकल्चर युनिभर्सिटी र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बीच संयुक्त प्रयोगशाला स्थापना गरिएको छ । जसअन्तर्गत दुई नेपाली विद्यार्थीले पिएचडीको अवसर पाएका छन् ।

डा. चित्रकार ड्राइङ टेक्नोलोजी पत्रिकाका सहायक सम्पादक,फुड बायोइञ्जिनियरिङका सम्पादकीय बोर्ड सदस्य,फुड्स एमडीपीआईका समीक्षक बोर्ड सदस्य र खाद्य विज्ञानका अन्य प्रतिष्ठित जर्नलका समीक्षकको रुपमा पनि सक्रिय छन् ।

Reposted from : Jana Aastha

 

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button